
काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भनाई छ । गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भुमिका कहाँ हुन्छ सोही अनुसार भुमिका निर्वाह गरीने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अहिले सरकार एमालेको प्राथमिकता होइन । एमालेको प्राथमिकता चुनाव हो । वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन । यसमा पर्याप्त मात्रामा क्रंक्रिटहरु थिएनन् । सिमेन्टहरु थिएन । छडहरु मिलाएको थिएन । रसायन मिलेको थिएन । त्यसकारण यो टुट्नु त अनिवार्य छ । यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ । टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ । त्यसको मतलव संसदमा अर्को सरकार बन्ने सम्भावना हुँदासम्म त संसद विघटन हुन्न भन्या छ । जब यो गठबन्धन टुट्छ भने संविधानको धारा ७६ प्रभावित हुन्छ । धारा ७६ ले जे–जे भनेको छ त्यो–त्यो हुन्छ । धारा ७६ भित्र एमालेको भुमिका जहाँ–जहाँ हुनुपर्ने त्यही–त्यही हुन्छ । तर अहिले हामी त्यसमा लालायित छैनौँ ।’
उहाँले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताउनुभयो । एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही गरीनुपर्ने उहाँले बताउनुभयो । सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तिनै तहको निर्वाचन भएको उल्लेख गर्नुभयो ।