३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव

पार्टी जतिसुकै ठूलो बनाए पनि त्यसले मुलुकलाई केहि दिँदो रहेनछ

कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव
अ+ अ-

करिब डेढ वर्षदेखि मैले सैद्धान्तिक तथा कार्यक्रमिक आधारमा नयाँ उचाईबाट कम्युनिष्ट पार्टीहरुबीच एकता गर्नु पर्छ भनेर पार्टीमा प्रस्ताव राख्दै, सार्वजनिकरुपमा लेख्दै र बोल्दै आएको कुरा सर्वविदित नै छ ।

नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या कुनै
कम्युनिष्ट पार्टीमा सहभागी भएर त्यस दिशामा काम गर्ने विकल्प छन्  भनेर सार्वजनिकरुपमा बोल्दै आएको छु । कम्युनिष्ट तथा वाम आन्दोलनमा योगदान गरेका तर अहिले कुनै पार्टीमा सङ्गठित नरहेका र वैकल्पिक राजनीतिको खोजीमा लागेका कैयन् प्रगतिशील तथा वाम झुकावका साथीहरुसँग नेपालको राजनीतिमा गर्नुपर्ने प्रगतिशील रुपान्तरणका बारेमा देशव्यापीरुपमा बहस चलाउँदै एकता तथा रुपान्तरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएको छु ।

मुख्य कुरा कम्युनिष्ट पार्टीको पुनर्गठन, रुपान्तरण र एकता भएकोले नेकपा (एकीकृत समाजवादी) मा सङ्गठित भएर त्यसतर्फ अगाडि बढ्न तपाईँहरुले गर्नु भएको आग्रहको महत्वलाई मैले बुझेको छु । यस बीचमा भएका अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनु भएको तत्परता सकारात्मक छ ।

यसै सन्दर्भमा यस कार्यदलले मसँग छलफलका लागि गरेको प्रस्तावलाई स्वागत गर्छु र मेरा प्रस्ताव निम्नानुसार राख्न चाहान्छु:

हाम्रो राजनीतिक वैभव र अवसर

१. नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले सर्वथा प्रभावकारी भूमिका खेलेका छन् । त्यसमध्ये कम्युनिष्ट पार्टीको योगदान अझ विशिष्ठ छ । सामाजिक न्याय र विकेन्द्रित विकासका मुद्दाहरु राष्ट्रिय राजनीति र राज्यमा स्थापित हुनु र सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी राज्यको स्थापना हुनु नेपाली राजनीतिले करिब आठ दशकमा हासील गरेका सबैभन्दा ठूला उपलब्धी हुन् । र, के तथ्य पनि जगजाहेर छ भने नेपाली जनताले प्राप्त गरेका ती
उपलब्धीमा कम्युनिष्ट पार्टीले अगाडि सारेका मुद्दा र उनीहरुले गरेका सङ्घर्षको निर्णायक भूमिका थियो ।

संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र सङ्घर्षका बाटोबाट अगाडि आएका कम्युनिष्ट पार्टीका भूमिकालाई एकै ठाउँमा राखेर सिङ्गो कम्युनिष्ट पार्टीका रुपमा हेर्दा हामी कम्युनिष्टहरु नै यो राजनीतिक तथा बौद्धिक—साँस्कृतिक वैभवका मुख्य उत्तराधिकारी हौँ भनेर गरिने दाबीलाई कसैले चुनौति दिन सक्दैन । आज कम्युनिष्ट पार्टी विभाजित रहेको हुँदा त्यो गौरव पनि विभाजित छ । नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइए पछि ती दुवै
पार्टीले इतिहासलाई आआफ्ना संकीर्णतामा व्याख्या गर्न थालेका छन् ।

तर नेकपा (एकीकृत समाजवादी) इतिहासका ती जडताबाट मुक्त भई इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको छ । इतिहासमुखी होइन, भविष्यमुखी भएर आन्दोलनका बारेमा सोच्ने हो भने त्यो वैभव असाधारण अवसर पनि हो । इतिहासमा भएका सबै उपलब्धी र कमजोरीहरु हाम्रा साझा विरासत हुन्न भन्ने
उन्नत चेतनाले मात्रै आन्दोलनलाई वास्तविक पुनर्गठन, रुपान्तरण र एकताको धरातलमा उभ्याउन सकिन्छ । त्यस अवसरलाई हरेक हिसाबले उपयोग गर्न यो पार्टी अगाडि बढोस्भन्ने चाहान्छु ।

२. संसदीय लोकतान्त्रिक अभ्यास र सशस्त्र सङ्घर्षका अगुवा नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता दुईवटा ठूला कम्युनिष्ट पार्टीहरुले एउटै घोषणापत्रका आधारमा निर्वाचन लड्नु, संसदमा असाधारण बहुमत ल्याउनु र समाजवाद निर्माण गर्ने कार्यदिशाका आधारमा एकीकृत हुनु सैद्धान्तिक
र साङ्गठानिक दुवै हिसाबले महत्वपूर्ण थियो । त्यो एकता हाम्रो समाजवादी क्रान्तिका लागि एउटा नयाँ आधार शिविर थियो, अगाडि बढ्नका लागि धेरै अवसरको ढोका खुलेको थियो ।

तर त्यससंसदको विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनले समाजवादतर्फ रुपान्तरणको असाधारण सम्भावनालाई भत्काएको छ । उक्त घटना कम्युनिष्ट पार्टीको लागि मात्रै नभएर मुलुकको लोकतान्त्रिक स्थीरता र समृद्धि तथा समाजवादको सम्भावनामाथि प्रहार थियो । त्यो पार्टी विभाजित भएर अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्।

अर्थात हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यहि आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै विन्दुमा फर्किनु पर्ने भएको छ । तर अहिले नेकपा एमाले नवौँ महाधिवेशनभन्दा पनि पछाडि फर्केर जनताको बहुदलीय जनवादलाई २०४७ सालको संविधानको वरिपरी कैद गर्न पुगेको छ । अर्कोतर्फ नेकपा माओवादी केन्द्रले समाजवादी कार्यदिशा त लिएको छ तर मार्गनिर्देशक सिद्धान्तमा ‘माओवाद’ नै कायम राखेर सैद्धान्तिक गञ्जागोलमा फसेको छ, पछाडि फर्केको छ । नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिकरुपमा अहिले पनि नेकपा कै विन्दुमा छ, पार्टी एकताको दस्तावेजमा उल्लेख भएको समाजवादी कार्यदिशामा स्पष्ट छ । अर्थात कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी) कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन ।

नेकपा (एकीकृत समाजवादी)ले आफुमा आएको जिम्मेवारी पूरा गर्ने सङ्कल्पका साथ अगाडि बढोस्भन्ने मेरो शुभकामना तथा आग्रह छ ।

अहिलेका कार्यभार

३. २०६२/६३ को जनक्रान्तिपछि समाजवाद निर्माणको कार्यदिशा सुनिश्चित गर्नु पथ्र्यो । नेकपा एमालेको नवौँ महाधिवेशनसम्म आउँदा हामीले त्यो ऐतिहासिक काम ग-यौँ । त्यस कार्यदिशामा आधारित रहेर ‘राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने’ पार्टीको कार्यक्रम तयार गर्ने जिम्मा महाधिवेशनले केन्द्रीय कमिटीलाई दियो ।

दुर्भाग्यवस, त्यस कार्यदिशाको विरुद्ध रहनु भएका कमरेड के पी ओलीलाई महाधिवेशनले पार्टीको अध्यक्ष निर्वाचित गरेपछि त्यो ऐतिहासिक
कार्यभार अवरुद्ध भयो । नवौँ महाधिवेशनपछि मैले निरन्तर यो विषय उठाइ रहेँ । कमरेड ओली र मेरा बीच भएका विवादको सबैभन्दा मुख्य विषय यहि थियो । नेकपा एमालेले त्यतिबेलै आजको क्रान्तिको ठोस कार्यक्रम (राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने) बनाउन सकेको भए स्थानीय, प्रदेश तथा केन्द्रीय तहका पार्टी सङ्गठन, सम्पूर्ण जनसङ्गठनहरु, सबै तहका सरकारहरु र सम्पूर्ण पार्टी पङ्ति त्यो कार्यक्रम लागू गर्न परिचालित हुन्थे र मुलुकले आर्थिक तथा सामाजिक विकासका सबै क्षेत्रमा एकताबद्ध राष्ट्रिय राजनीतिक नेतृत्व पाउँथ्यो ।

राज्यका सबै नीतिहरु रोजगारी सिर्जना र सामाजिक न्यायका मुद्दामा ठोसरुपमा केन्द्रित हुन्थे । कृषि, उद्योग, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासनलगायत सबै क्षेत्रमा ठोस योजनाहरु बनाइन्थे । राष्ट्रिय स्वाधीनता र हितमा आधारित भएर संविधानले निर्दिष्ट गरेअनुसार विदेश सम्बन्ध सञ्चालन गरिन्थ्यो । राष्ट्रिय हित र विकासका लागि जनताको अझ ठूलो पङ्ति कम्युनिष्ट पार्टीको वरिपरि गोलबन्द हुन्थो, राष्ट्रिय एकता अझ सुदृढ हुन्थ्यो । नेपाली समाजवादको भ्रुण विकसित हुन्थ्यो ।

समाजवादको त्यो भ्रुण आजको विश्व परिस्थितिमा कम्युनिष्ट पार्टीले कसरी समृद्धि र समाजवाद कार्यान्वयन गर्न सक्छ भन्ने एउटा उदाहरणीय नमूना बन्न सक्थ्यो । संसद विघटन र त्यसका साथै विकसित अस्थीरताको राजनीतिक घटनाक्रमले त्यो अवसर गुमेको छ । फेरि पनि, कम्युनिष्ट पार्टीले समाजवादको ठोस कार्यक्रम बनाएर मात्रै अगाडि बढ्न र समाजमा नयाँ आशा र विश्वास जगाउन सक्छ । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेको नवौँ महाधिवेशनले जिम्मा लगाएको ठोस कार्यक्रम बनाउने कामको नेतृत्व गर्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्न अगाडि बढ्नु पर्छ ।

४. हामीले आजको समाजवादको ठोस कार्यक्रम बनाएको भए त्यो कार्यक्रम बोक्ने नयाँ सङ्गठनात्मक सिद्धान्तहरु बन्थे, बनाउनै पथ्र्यो । यो नवौँ महाधिवेशनपछि मैले पार्टीमा उठाइरहेको दोश्रो मुख्य मुद्दा थियो । त्यसो गरिएको भए नयाँ सङ्गठनात्मक सिद्धान्तका आधारमा पार्टीको विधान बन्थ्यो । त्यसअनुसार समाजवादको ठोस कार्यक्रम लागू गर्ने योग्यता र क्षमताका आधारमा पार्टीका सबै नेता र कार्यकर्ताको मूल्याङ्कन हुने पारदर्शी र लोकतान्त्रिक पार्टी बन्थ्यो ।

त्यस्तो पार्टीमा कसैले पनि भ्रष्टाचार गर्दैन भन्ने कुराको ग्यारण्टी हुन्थ्यो । त्यस्तो पार्टी हाम्रो राज्य र समाजमा सुशासनको ग्यारण्टी बन्न सक्थ्यो । सबै कमिटीहरु अनिवार्यरुपले निर्वाचित हुन्थे, कुनै पनि व्यक्तिसँग कुनै पनि विशेषाधिकार हुँदैनथ्यो । पार्टीका हरेक निर्णय सामुहिकरुपमा, पार्टी कमिटीबाट मात्रै गरिन्थे । स्थानीय, प्रदेश र सङ्घीय सरकारमा पठाइने प्रतिनिधिहरु सबै आआफ्नो तहका सदस्यहरुबाट प्रत्यक्षरुपले निर्वाचित भएर आउँथे ।

आफ्नो दायित्व पूरा नगर्ने प्रतिनिधिलाई प्रत्याह्वान गर्ने व्यवस्था हुन्थ्यो । कार्यक्रम लागू गर्ने योग्यता र क्षमताका आधारमा व्यक्तिको मूल्याङ्कन हुने परिपाटी बस्थ्यो र गुटबन्दीको कुनै गुञ्जाइस हुँदैनथ्यो । योग्यताको नाममा अहिले हामीले अवलम्बन गरेका वैधानिक व्यवस्थाले क्षमतालाई अवमूल्यन गरेका छन्। जसले गर्दा युवा पुस्ताका नयाँ र क्षमतावान व्यक्तिहरुलाई कम्युनिष्ट पार्टीले आकर्षण गर्न सकिरहेको छैन । हाम्रो सङ्गठनले यो समस्यालाई समाधान गथ्र्यो । यसरी नयाँ सङ्गठनात्मक सिद्धान्तका आधारमा नयाँ लोकतान्त्रिक र क्रान्तिकारी पार्टी बन्थ्यो ।

नेकपा एमालेमा कमरेड के पी ओलीको नेतृत्वले गर्दा कम्युनिष्ट आन्दोलनले त्यो ऐतिहासिक अवसर गुमाएको छ । त्यसैले नेकपा एकीकृत समाजवादीले नयाँ सङ्गठनात्मक सिद्धान्तहरुको विकास गर्न पहल गर्नु आवश्यक छ । अहिलेका कम्युनिष्ट पार्टीहरुमध्ये लोकतन्त्रमा आधारित क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न पहलकदमी लिने अवसरलाई नेकपा एकीकृत समाजवादीले एउटा मुख्य कार्यभार बनाएर अगाडि बढ्नु पर्छ ।

५. हामीले ध्यान दिनु पर्ने कुरा के छ भने कम्युनिष्ट पार्टीमा रहेर विभिन्न हिसाबले योगदान गरेका, पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका साथीहरुको ठूलो पङ्ति अहिले पार्टी बाहिर छ । कम्युनिष्ट तथा वाम आन्दोलनको समर्थक तथा शुभचिन्तक र आफुलाई कम्युनिष्ट वा वामपन्थी नभन्ने तर लोकतान्त्रिक, प्रगतिशील विचार भएकाहरुको अझ ठूलो पङ्ति अहिले निराश र कम्युनिष्ट पार्टीप्रति आलोचक हुँदै गएको छ । यसका ठोस र स्पष्ट कारण छन् । राज्यसत्तामा सहभागी हुँदै जाँदा, नेताहरुले दलाल पुँजीवादसँग हेलमेल गर्दै जाँदा, त्यसका बलमा गुटबन्दी गर्दै जाँदा क्रमशः हुर्कँदै गएको मूल्यहीन, विचारहीन, सिद्धान्तहीन व्यक्तिवादी, सुविधाभोगी, विकृतिहरुले गर्दा कम्युनिष्ट पार्टीलाई नराम्ररी प्रभावित पार्न थाल्यो ।

माथिल्लो पङ्तिमा बढ्दै गएको बौद्धिकता तथा ज्ञान—विज्ञानलाई अवमूल्यन गर्ने अर्थात् तर्क र तथ्यलाई इन्कार गर्ने, दम्भ तथा घमण्डलाई योग्यता ठान्ने, पपुलिष्ट, चलखेल र षडयन्त्रलाई नै राजनीति र शक्ति प्रदर्शनलाई नै सफलता देख्ने, पार्टीमा विचारका असहमतिको समाधान निन्दा÷भत्र्सनामा खोज्ने, प्रश्न वा आलोचना सुन्नै नसक्ने प्रवृत्ति बढ्न थाल्यो । त्यस्तै तल्लो तहमा सस्तो र झूठो प्रचारमा रमाउने, व्यक्ति पूजक तथा आत्मप्रशंसामा लिप्त हुने, चाकरी र भक्तिलाई नै व्यक्तित्व विकासको वृत्ति ठान्ने प्रवृत्तिले विस्तार हुँदै गयो ।

जसले गर्दा कम्युनिष्ट पार्टी समाजको वामपन्थी तथा प्रगतिशील विचार राख्ने जागरुक मध्यमवर्गबाट अलग्गिँदै गयो र प्रश्नसमेत गर्न नसक्नेहरुको भिडमा परिणत हुँदै गयो । झण्डै दुई तिहाई बहुमत रहेको संसदलाई दृष्यअदृष्य स्थार्थहरुको आग्रह र उक्साहटमा विघटन गर्दा र सुनियोजितरुपमा नेकपा विभाजन गर्दासमेत हस्तक्षेप गर्न नसक्ने पार्टी पङ्ति त्यसको एउटा ज्वलन्त उदाहरण हो ।

जसले गर्दा समर्थक, शुभचिन्तकहरुको ठूलो पङ्ति कम्युनिष्ट पार्टीबाट विकर्षित हुन थालेको छ । त्यसैले हामीले कम्युनिष्ट पार्टीमा हिजो निर्माण गरेको उदार, सहिष्णु, आलोचनात्मक, लोकतान्त्रिक, सामुहिक चेतना, र स्वतन्त्रतालाई पुनस्र्थापित गर्नु पर्नेछ ।

लाखौँ सदस्यको स्वतन्त्रता, प्रतिष्ठा, व्यक्तित्वमाथि कुनै खास नेताको मात्रै व्यक्तित्व, पहिचान, प्रतिष्ठा हुने अहिलेको संरचनालाई भत्काउनै पर्छ । वैज्ञानिक चेतना भएको, उदार, सहिष्णु, श्रमजीवी, दलित तथा पिछडिएको जनसमुदायप्रति प्रतिबद्ध, स्वाधीन अर्थतन्त्रको पक्षधर, प्रगतिशील, वामपन्थी तथा समाजवादीहरुलाई गोलबन्द गर्दै वा सम्भव भएसम्म सहकार्य गर्दै नयाँ पुस्तालाई पनि भरपर्दो राजनीतिक विकल्प दिन नेकपा (एकीकृत समाजवादी) ले संस्थागत पहलकदमी लिनु पर्छ ।

मेरो विश्वास

कम्युनिष्ट आन्दोलनका उपरोक्त ऐतिहासिक अवसरलाई उपयोग गर्ने र कार्यभारलाई पूरा गर्ने संस्थागत सङ्कल्पका साथ नेकपा एकीकृत समाजवादीले अपील गर्दा देशभित्र र बाहिर रहेका सबै कम्युनिष्ट, समाजवादी, वामपन्थी तथा प्रगतिशीलहरुमा एउटा नयाँ आशा जगाउन सक्छ । पार्टी गठन गरेपछि ब्यहोरेका उतार—चढाव र हण्डर—ठक्करका साथै गत निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्दा पार्टी पङ्तिमा निराशा देखा परेको हुन सक्छ । तर प्रश्न व्यक्तिगत लाभहानीको होइन र क्रान्तिको हो भने, क्रान्तिकारी पार्टी निर्माणको हो भने, हामीले अभ्यास गरेको औपचारिक लोकतन्त्र र वामपन्थलाई वास्तविक लोकतन्त्र र वास्तविक वामपन्थ बनाउने हो भने आज पार्टी कति ठूलो वा सानो छ भन्ने कुरा गौण हो ।

पार्टी ठूलो हुनुमात्रै सबै कुरा हुन्थ्यो भने हामीले दुई तिहाई शक्तिका साथ संसदमा खडा भएको, संघीय र प्रादेशिक तहमा सबैजसो सरकारहरुमा एकछत्र वर्चस्व भएको असाधारण शक्तिशाली पार्टी बनाएका थियौँ । केवल केहि व्यक्तिका गुटका स्थार्थका लागि त्यत्रो पार्टी भहराएर ढल्दै गर्दा हस्तक्षेप गर्न नसक्ने संरचना जतिसुकै ठूलो बनाए पनि त्यसले मुलुकलाई केहि दिँदो रहेनछ भन्ने तथ्य हामी सबैले ब्यहोरेर आएका छौँ ।

हामीले के भुल्न हुँदैन भनेमुलुकमा विचार तथा सिद्धान्तमा आधारित र आन्तरिक लोकतन्त्रको अभ्यास भएको कम्युनिष्ट पार्टीको निर्माण होस् भन्ने चाहाना राख्ने ठूलो क्रान्तिकारी जनमत छ । अहिले केवल यस विश्वासलाई वाणी दिने र साकार गराउने पार्टी र नेतृत्व आवश्यक छ । क्रान्तिमाथि बाहिरबाट हुने आक्रमण खतरनाक हुन्छन्, तर भित्रैबाट हुने आक्रमण पनि उत्तिकै खतरनाक हुँदा रहेछन्भन्ने कुरा भोगरै आएका छौँ । तसर्थ, मुख्य प्रश्न हाम्रो आन्दोलन कुन बाटो भएर अगाडि बढ्छ र कति समयमा कस्तो परिणाम निस्कन्छ भन्ने स्पष्ट योजना बनाउनु हो । त्यसरी अगाडि बढ्दा मुलुकले खोजेजस्तो पार्टी निर्माण गर्न सकिन्छ भन्ने कुरामा मेरो गहिरो विश्वास छ ।

घनश्याम भूसालले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को वाम एकता वार्ता समितिका संयोजकलाई लेखेको पत्र