७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोप र तोपको होइन इतिहासको सम्मान गरौँ



अ+ अ-

शासक भनेका अभिभावक हुन् सबैका कुरा सुन्नुपर्छ, जिम्मेवारी निभाउनुपर्छ, न्यायोचित विषयलाई आत्मसात् गर्नुपर्छ । राम्रा कामका लागि सबैलाई साथ र हात दिनुपर्छ ।

काखा र पाखाको राजनीति शुरू भएपछि परिवार, समाज र राष्ट्रले दुर्घटनाको मुख देख्नुपर्छ । राम्रा गुण जसमा छ, असल कुरा जहाँ छ त्यसलाई ग्रहण गर्नुपर्छ । अप्रतिभाको जन्म कुनै जात, वर्ग र कुलमा मात्र हुँदैन भन्ने तथ्यलाई हाम्रो इतिहासले प्रष्ट पारेका प्रशस्त उदाहरणहरू छन् । गोरखाले यस्तै एक तथ्यलाई उजागर गरेको छ ।

एक सामान्य परिवारमा जन्मिएका बिसे नगर्चीले राष्ट्रनिर्मातालाई ठुलो मार्गदर्शन गरेका थिए । बिसे नगर्ची गोरखादरबारनजिकै बसोबास गर्दथे । उनको परिवारले लुगा सिलाउने, बाजा बजाउनेलगायतका कामहरू गर्दथे । अहिले पनि गोरखादरबारभन्दा केही तल परियारहरूको बाक्लो बस्ती छ । बिसे दमाई नरभूपाल र पृथ्वीनारायणका बीच उमेरका थिए । नरभूपालका आँखामा परेका बिसे राष्ट्रवादी एवं तीक्ष्ण बुद्धिका थिए ।

आफ्नौ बर्कत र परिश्रमले गर्दा पृथ्वीनारायण शाहका विश्वासिलो पात्र बने । पितापुर्खादेखि नै दरबारनिकट बसाईले उनमा परिस्थितिको आकलन गर्ने क्षमता विकास भएको हुनुपर्छ ।

नुवाकोटमाथिको प्रथम हमलामा असफल भई खिन्न भएका पृथ्वीनारायणलाई बिसेले युद्धसामग्री जुटाउन जरुरी रहेको राय दिए । योद्धा कुशल भएर मात्र पुग्दैन हतियार पनि गुणात्मक चाहिन्छ । त्यसबेला गोरखामा हतियार बन्दैनथ्यो । बनारसमा गएर हातहतियारको व्यवस्था गर्ने एवं देशाटनको अनुभव लिने इच्छा पृथ्वीनारायणले गरे । बनारस विद्याका लागि मात्र होइन भारतीय राजनीति, आर्थिकलगायतका बारेमा बुझ्ने उपयुक्तस्थल पनि थियो ।

हतियार खरिद गर्न राजासँग नगद थिएन । यो अप्ठेरो अवस्थामा पृथ्वीनारायण शाह चिन्तित हुँदै बिसे नगर्चीकहाँ पुगे । बिसेले पनि आफ्नो क्षमताअनुसार सहयोग दिए र राजालाई गोरखाराज्यको १२ हजार घरधुरीबाट १/१ रूपैया उठाउने जुक्ति बताए । त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म थियो ।

बिसेका कुरा पृथ्वीनारायण शाहलाई उपयुक्त लाग्यो र सोहीअनुसार कर उठाएर काशी (बनारस) बाट हात–हतियार किनी ल्याए । दोस्रोपटक नुवाकोटमाथि हमला भयो, नुवाकोट गोरखाराज्यमा गाभियो र नेपाल एकीकरणको शुरूवात भयो । नुवाकोटमाथि भएको विजय युद्धमा बिसे दमाईले सिपाहीको भूमिका निर्वाह गरेका थिए । बिसेलाई युद्धनीतिदेखि अर्थनीतिसम्म राम्रो ज्ञान थियो ।

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्काबीचको तरूलका रूपमा चित्रित गरेका छन् । ढुङ्का कठोर हुन्छ भने तरूल कोमल, कठोरले कोमललाई सहजरूपमा फुटाउन सक्छ, अत्यन्तै यथार्थ र अर्थपूर्ण छ नेपालको सन्दर्भमा पृथ्वीनारायणको उद्गार । भौगोलिक रूपमा, जातजातिका हिसाबले, धार्मिक, आर्थिक र रीतिरिवाजले विविधता बोके पनि पृथ्वीनारायणले नेपाल र नेपालीलाई साक्षी राखी एकताको बिगुल फुकेका कारण नेपाल स्वतन्त्र राष्ट्र हुन सकेको छ ।

पृथक् संस्कृतिमा रमेका सानातिना राज्यहरूलाई, एउटै राज्यसूत्रमा आबद्ध गरी, एउटै राष्ट्रिय भाव जगाउनु र विभिन्न धर्मावलम्बीलाई सहिष्णुताको पाठ सिकाउनु सामान्य कुरा मान्न सकिन्छ । जसले यी कुराहरूलाई बुझेर पनि बुझ पचाउँछ, उसले आफ्नौलाई धोका दिइरहेको हुन्छ । जसले यो वास्तविकतालाई बुझेको हुन्छ, उसले देशको सम्पूर्ण महत्वलाई बुझेको हुन्छ, जनता र माटोलाई बुझेको हुन्छ । यसको मर्म आत्मसात् गर्न नसकेका कारण शान्ति सुरक्षा, कानुन र मर्यादा भन्ने कुरा हराइसकेको छ ।

बिसेका विचार अहिले ओझेलमा परेका छन् । उनीमाथि उनका सन्ततिले लाभ, हानिलाई ध्यान दिएर लिन थालेका छन् । राष्ट्रको मौलिक पहिचान, सुसंस्कति, रीतिरिवाज, संस्कार र परम्परा प्रभावहीन हुन पुगेको वर्तमान परि प्रेक्ष्यमा विश्वसामु राष्ट्रको अस्तित्वसँगै गौरव बढाइराख्ने अभियानमा हामी सबै तह र तप्काका नेपालीमा बोध हुनुपरेको छ ।

राष्ट्र विखण्डनको दोसाँधमा उभिएका बेला बिसेको आवश्यकता खड्किएकाे छ । कतिपय विकृति र विसङ्कतिले भित्र्याएका आर्थिक परतन्त्रताको स्थितिमा राजनैतिक स्वतन्त्रताको कुनै अर्थ रहँदैन । आ–आफ्नो स्वार्थ, सत्ता र सुविधाका लागि नैतिकता छोडेर, सिद्धान्त बेचेर, राष्ट्रलाई बन्धकी राख्ने काम कतैबाट हुनुभएन । यस विषम स्थितिमा पृथ्वीनारायण र बिसेबीचको आत्मीयतालाई चिन्तन गर्न आवश्यक छ ।

पृथ्वीनारायणले राष्ट्र निर्माणमा सबैको उत्तिकै योगदान भएकाले यसलाई सबैको साझा फूलबारी भनेका छन् । यो मन्त्रलाई बिर्सेर नेता, बुद्धिजीवी, विद्यार्थी, कर्मचारी, उद्योगपति, व्यापारी, राजनैतिक पार्टीहरू आफूलाई फाइदा नभएसम्म कसैलाई वर्ग शत्रु मान्ने र आफूलाई फाइदा हुने देखियो भने त्यसलाई वर्गमित्र ठान्ने संस्कार र संस्कतिको खेतीमा लागिरहेको देखिन्छ ।

अहिले सामाजिक, सांस्कृतिक, धार्मिक, वैचारिक विकृति र विसङ्कतिहरूद्वारा राष्ट्र विचलित बन्ने पुगेको छ । समष्टिगत रूपमा भन्नुपर्दा राष्ट्रको सन्तुलन नराम्ररी खल्बलिएको छ । यस्तो अवस्थामा मुलुकलाई पुनः स्थायी शान्तिप्रदान गरी समुन्नतिततर्फ अग्रसर गराउने, विकास निर्माणको प्रक्रियालाई सन्तुलित पारी नेपाली जनताको बिग्रँदो र खस्कँदो मनस्थितिलाई कसरी उठाउने भन्ने आजको प्रमुख सवाल रहेको छ ।

यसलाई राजनैतिक पूर्वाग्रहको चस्मा पन्छाएर स्वच्छ दृष्टिले राष्ट्रिय हितमा चिन्तन गर्ने हो भने नेपाल र नेपालीको एउटै आधार स्तम्भ राजसंस्थालाई मात्र मान्न सकिन्छ । राजाबाट मात्र बिसेजस्ता चिन्तकले स्थान पाउँछन् अनि राष्ट्रको श्रीवृद्धिमा टेवा पुग्छ । राजसंस्थाले नै इतिहासका कयौँ कालखण्डदेखि राष्ट्र र नेपाली जनतालाई अप्ठ्यारो परेको बेला, नेपालीको मन रोएको बेला, शान्त्वना दिएर राष्ट्रलाई सही बाटोतर्फ डो-याएका यथार्थहरू हामी सबैका सामु स्पष्ट छ ।

द्वन्द्वमा विभाजित हुनेहरूलाई सही बाटोमा अगाडि बढ्न प्रेरणा दिने काममा राजसंस्थाले प्रदान गरेको दिशाबोधलाई हामीले मूल्याङ्गन गर्नुपर्ने आजको टड्कारो आवश्यकता हो भन्नु अत्युक्ति नहोला । फूलबारीका मालीलाई हामीले भूल्न हुँदैन जहाँ बिसे, झागल गुरुङ, विराज बखेती सबै अटाउँछन् ।

चार वर्ण छत्तीस जातको साझा फूलबारीको बारेमा चिन्ता गर्नु, चासो राख्नु सबै नेपालीको अधिकार छ । राजा र नेपाली जनताको अनन्य बलिदानबाट निर्माण भएको देश हो यो नेपाल । निर्माण गर्नेलाई त्यसको अधिक माया हुन्छ । यो कसैले सिकाउनुपर्ने विषय नै होइन । देश समाप्त हुने हो भने नेताहरूले जोहो र चाँजोपाँजो मिलाइसकेका पनि होलान् तर नेपाली जनता र राजा नेपाल छोडेर जाने ठाउँ कहाँ ? तसर्थ देशको चिन्ता राजनीतिक पार्टीलाई मात्र छ, राजा र नेपाली जनतालाई छैन भन्नु ज्यादै अज्ञानता हो ।

राजनैतिक दलहरूले चिन्ता र चासो राख्नु अत्यन्त राम्रो कुरा पनि हो । त्यसो हो भने दलगत स्वार्थभन्दा माथि उठेर देशभक्तिको मिलनबिन्दुमा आएर आफ्नो परम्परा र राष्ट्रको हितमा लाग्नुपर्छ । देशको साँच्चै नै माया छ भने हामी सबै मिलेर देशलाई बचाउनुप-यो । यसैमा नेपालको र नेपालीको कल्याण छ । यस भावना र मर्मलाई बुझेर नै पृथ्वीनारायण शाहले एकीकरणको शत्रुद्दोष गरेका थिए । उनी सबैका साझा हुन् । यो प्रष्ट विषयलाई लुकाएर शालिक तोड्नु, अपव्याख्या पैmलाउनु नेपालीका लागि कति घातक छ प्रष्ट हुन्छ ।

युद्ध भनेको युद्ध नै हो । त्यो पनि उसबेलाको घरेलु हतियार र शारीरिक बलको युद्धहरू । युद्धमा विजय वा पराजय जे पनि हुन सक्दछ । पृथ्वीनारायणले अरूलाई आदेशमात्र नदिएर स्वयम्ले गोरखालीको नेतृत्व गर्दै भीषण युद्धहरू लडे । उनले एउटा भूरेराज्य गोरखाबाट शुभारम्भ गरेका एकीकरण अभियान थियो । आफ्ना सेनालाई कति उच्चतवरले तिखारेका रहेछन् ।

सेनाप्रति अपार माया हुनुका साथै तीप्रति ठुलो विश्वास र भरोसासमेत रहेछ । कुनै पनि वीरगति प्राप्त सैनिक परिवारले टुहुरोको महसुस गर्नु परेन । “न्याय हराए गोरखा जानु” भन्ने लोकोक्ति रहेको राजा राम शाहका नीतिलाई अङ्कीकार गरेका पृथ्वीनारायणले धार्मिक, न्यायिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक आदि हरक्षेत्रमा समदृष्टि र सुदृष्टि पु-याउन पनि भ्याएका थिए ।

उनको यो मर्मलाई बुझेर नै भोटु पाँडेले वि. सं. १८७३ मा पशुपतिनाथका प्रागंणमा पृथ्वीनारायण शाहका शालिक स्थापित गरेका थिए । वि. सं. २०२१ मा प्रस्तरकलाको पूर्णकदको शालिक सिंहदरबारको मूलढोकाअगाडि स्थापित भयो । त्यसैगरी अन्य जिल्लामा समेत निर्माण हुन थाल्यो । उनले निर्माण गरेको देशमा बसेर उनका शालिक तोड्नु वा अथक परिश्रमले जोडिएका नेपालीको सम्वन्ध खल्बल्याउन त्यस ठाउँमा अर्कोको शालिक राख्नु कस्तो विडम्बना ?

केपुचिन इसाई पादरी (धर्मगुरु) र तिनका कट्टर अनुयायीहरूले नेपालराज्य निर्माणमा बाधा गरेपछि लगभग ६२–६३ जनालाई धपाइदिएका थिए । यसको गूढ रहस्य नबुझेर बेहोस, रोश र प्रतिशोधमा अग्रज इतिहासकार विलियम ककपेट्रिक र निज प्रभृतिका अरू इतिहासकारले झुट्टा इतिहासहरू लेखेर पृथ्वीनारायण शाहजस्ता एक सच्चा सपूतका बारेमा अनर्गल प्रचार गरे, सो अत्यन्त खेदजनक छ ।

त्यतिले पनि नपुगेर राष्ट्रिय जनगणनानुसार नेपालका ९४ प्रतिशतभन्दा बढी नै जनताले परम्परादेखि मानिआएका ॐ कार (हिन्दू जैन, किरात तथा बौद्धधर्म) को देश नेपालमा छद्मभेषी स्वार्थीतत्वका स्वार्थपूर्तिका लागि धर्मनिरपेक्षता घोषणा भई त्यसैका आडमा इसाईकरण हुँदैछ । अतः इसाईले नेपालमा उहिले ‘तोप’ लगाए, तोपले नसकेर अहिले ‘पोप’ लगाउँदै छन् ।

यस्तो अवस्थामा हामीले परचक्रीलाई चिनेनौ भने अस्तित्व नै समाप्त हुन सक्छ । त्यसैले सबै एकजुट हुनुको अर्को विकल्प नभएको तथ्य पृथ्वीनारायण शाहले बताएका हुन् । इसाईले धर्मको माध्यमबाट नवउपनिवेश स्थापनाको कोशिस गरिराखेका छन् । हामीले कुलधर्म र परम्परा छोड्नु भनेको आफ्नै पुर्खा र राष्ट्रलाई धोका दिनु हो, त्यसैले सबैलाई चेतना भया ।