१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग

आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग
अ अ+ अ-

काठमाडौँ । आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो ।

जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली उद्योगबाट वार्षिक पाँच करोड ६५ लाख जोर जुत्ता उत्पादन भइरहेका छन् । एक जना नेपालीले वर्षमा तीन जोर जुत्ता प्रयोग गर्ने औसत तथ्याङ्कका आधारमा सङ्घले आगामी पाँच वर्षमा स्वदेशी उत्पादनको हिस्सा ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

नेपाली उद्योगबाट २०७४ सालमा वार्षिक तीन करोड ३९ लाख जोर जुत्ता उत्पादन भएकामा त्यसयताको पाँच वर्षमा ६६ दशमलव ६६ प्रतिशतले उत्पादन बढिसकेको छ । सङ्घका अनुसार नेपालमा वार्षिक नौ करोड जोर जुत्ता चप्पलको माग छ । “नेपाली उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादनको क्षमता भए पनि अहिले भइरहेको उत्पादनले ६५ प्रतिशत माग धानिरहेको छ”, उहाँले भन्नुभयो, “अब हामीले स्वदेशी उत्पादनको खपत र निर्यात बढाउँदै जानुपर्छ ।”

सङ्घले आगामी तीन वर्षमा जुत्ता चप्पलमा प्रयोग हुने ८० देखि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने गरी काम गरिरहेको छ । दक्ष जनशक्तिको अभाव र जुत्ताको अनियन्त्रित आयात, न्यून विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।”

हाल नेपालमा साना, ठूला र मझौला गरी एक हजार पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यसमा ठूला र मझौला गरी दुई सय २९, परम्परागत शिल्पीमा आधारित एक हजार ७२ र हस्तकलामा आधारित दुई सय उद्योग छन् । यस क्षेत्रमा भएको कुल रु ३० अर्बभन्दा बढीको लगानीमध्ये रु चार अर्ब बैंक तथा वित्तीय संस्थाको ऋण रहेको छ । सङ्घका अनुसार धेरैजसो ठूला र मझौला उद्योगहरु काठमाडौँ, विराटनगर, वीरगञ्ज, बुटवल र भैरहवामा सञ्चालित छन् भने २०७४ सालपछि उद्योग स्थापना हुने क्रम बढेको छ ।

नेपालमा २०२२ जेठ २० मा चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएपछि व्यावसायिकरुपमा छालाजन्य वस्तु र जुत्ता चप्पल उत्पादन सुरु भएको थियो । त्यसअघि परम्परागत रुपमा भइरहेको उत्पादनले उपभोक्ताको आंशिक मागलाई मात्रै धानेको अवस्था थियो । विसं २०४६ पछि सुरु भएको औद्योगीकरणमा निजी क्षेत्रको प्रवेशसँगै यसले व्यावसायिकता हासिल गरेको थियो ।

अध्यक्ष घिमिरेले भन्नुभयो, “राज्यले सामान्य सहयोग गर्ने हो भने तीन वर्षमा फुटवेयर उद्योगले ८० प्रतिशत ‘भ्यालु एड’ गर्न सक्षम हुनेछ ।” उहाँले जुत्ता चप्पलमा प्रयोग हुने कच्चा पदार्थ आयातमा पूर्ण कच्चा पदार्थको हकमा पाँच प्रतिशत, दोस्रो तहको कच्चा पदार्थमा १५ प्रतिशत र पूर्ण तयारी अपरलाई ३० प्रतिशत कर लगाउनुपर्ने बताउनुभयो । “एक दशकअघिसम्म पाँचदेखि १० प्रतिशत मात्रै कच्चा पदार्थ प्रयोग हुने गरेकामा त्यो बढेर अहिले ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेको सङ्घले जनाएको छ । सङ्घका अनुसार जुत्तामा ३६ प्रकारका कच्चा पदार्थ प्रयोग हुने र कुल ६० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको छ ।

सङ्घका प्रवक्ता त्रिलोक श्रेष्ठले पछिल्लो समय विश्व बजारमा अत्याधुनिक मानिएका प्रविधि भित्र्याउन थालिएपछि नेपाल उत्पादनको लागत अन्य मुलुकको भन्दा सस्तो पर्न गएको बताउनुभयो । जुत्ता चप्पल उद्योगमा हाल संलग्न ५५ हजारमध्ये ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी कामदार कार्यरत रहेको सङ्घको भनाइ छ । कूल कामदारमध्ये एक तिहाइ महिला कामदार रहेको सङ्घको भनाइ छ ।

सङ्घका अनुसार हाल नेपालमा उत्पादित जुत्ता १८ वटा मुलुकमा निर्यात भइरहेको छ । मुख्यतया नेपाली उत्पादनको माग भारत, मलेसिया, युरोपेली राष्ट्रमा बढ्दै गएको छ भने अमेरिकामा समेत निर्यात भइरहेको उहाँको भनाइ छ । “सरकारले पछिल्लो समय निर्यातमा अनुदान दिन थालेपछि उद्योगलाई प्रोत्साहन मिल्नुका साथै आर्थिक रुपमा पनि केही राहतको महसुस भएको छ”, उहाँले भन्नुभयो, “सरकारी नीतिअनुसार कुनै एक उद्योगीले वार्षिक रु ५० करोडभन्दा बढीको निर्यात गरेमा आठ प्रतिशत अनुदान प्राप्त हुनेछ ।”

सङ्घका निवर्तमान अध्यक्ष कृष्णकुमार फुँयालले नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर हुन समय नलाग्ने भन्दै कच्चा पदार्थ र विदेशबाट आयात हुने जुत्तामा लगाइने भन्सार करमा धेरै भिन्नता नहुँदा विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउनुभयो । सङ्घले जुत्ता चप्पलमा भइरहेको चोरी पैठारीलाई निरुत्साहित गर्नसके जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुने भन्दै यसका लागि राज्यले सहयोग गर्नुपर्ने माग गरेको छ ।

सङ्घका उपाध्यक्ष सुरज बञ्जाडे हाल भइरहेको जुत्ता चप्पल निर्यातलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुहुन्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादन निर्यातमा आठ प्रतिशत नगद अनुदानको दिने घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उत्पादनको निर्यात सुधारका लागि सिमेन्ट, क्लिङ्कर, स्टील, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसायलगायतमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गर्नुभएको थियो ।

सङ्घका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता आयात भएको थियो भने सो वर्ष २७ लाख ६४ हजार छ सय ४३ जोर निर्यात भएको थियो । त्यस्तै आव २०७६र७७ मा दुई करोड २० लाख ८८ हजार ७६२ जोर जुत्ता आयात भएको थियो ।

सङ्घका संस्थापक अध्यक्ष सुरेन्द्र दाहालका अनुसार वार्षिक १६ करोड जोर उत्पादन क्षमता भए पनि माग भने वार्षिक नौ करोड जोर जुत्ताको रहेको छ । “कूल ३६ प्रकारका कच्चा पदार्थको सम्मिश्रणबाट जुत्ता तयार हुन्छ भने यसले सहायक उद्योगहरु समेत स्थापना गर्न सकिन्छ”, उहाँले भन्नुभयो । छालाजन्य उद्योगको समग्र विकासका लागि आवश्यक प्रविधि, तालिम निर्यात प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन आवश्यक रहेको उहाँको भनाइ छ । रासस