३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
अ+ अ-

ढोरपाटन । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् ।

दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो । ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन् । खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ । तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो ।

तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो । ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ । ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ । तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ । बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ ।

लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ । यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकराम घर्तीमगरले बताउनुभयो । उहाँले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउनुहुन्छ ।

टीकाराम भन्नुहुन्छ, “तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ ।” उहाँ सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुहुन्छ । अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउँदै आएको घर्तीमगरको भनाइ छ । उहाँले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताउनुभयो । अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्तीमगर बताउनुहुन्छ ।

“जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “ताललाई व्यवस्थित बनाइएको छ, तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ ।”

स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । बुढामगर बिदाको दिन अझ बढी मान्छे घुम्न आउने गरेको बताउनुहुन्छ । केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ । चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उहाँले बताउनुभयो ।

“केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ प¥यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक–दुई दिन बास पनि बस्ने गर्थे”, उहाँले भन्नुभयो, “यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन् ।”

तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ । यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताउनुभयो । अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाखबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताउनुभयो । गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ ।

“तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष रु १० लाखको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ”, सूचना अधिकारी गिरीले भन्नुभयो, “ताल पहिलेदेखि नै चर्चित थियो, गाउँपालिकाले पनि प्रचार–प्रसार र प्रवद्र्धन गरिराखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ ।”

निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताउनुभयो । उहाँले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार–प्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताउनुभयो ।

अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको सङ्ख्या बढेको छ ।”

ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहजरूपमा अवलोकन गर्न सकिन्छ । यहँबाट बागलुङ, रोल्पा, पूर्वीरुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ । आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन् । रासस