• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै



रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् ।

जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् ।

मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउँदा विगतदेखि नै यहाँका किसान मर्कामा छन् । लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्ला घोषणा भएको रुकुम९पूर्व० मा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीयस्तरमै जुस बनाउन थालिएको छ ।

बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम९पूर्व० ले किसानलाई तीन दिनसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो ।

तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संक्षण अधिकृत भेषबहादुर थापाले तीन प्रकारको जुस बनाउन सिकाइएको बताउनुभयो । उहाँका अनुसार किसानलाई ‘नेक्टर जुस’ बनाउन सिकाइएको छ । यसमा केमिकल केही नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको एक दिनभित्रै प्रयोग गरिसक्नुपर्ने बताउनुभयो । अर्को ‘स्क्वास जुस’ बनाउन सिकाइएको छ । यो जुस एक लिटरमा तीन लिटर पानी मिसाएर खान सकिने वरिष्ठ खाद्य संक्षण अधिकृत थापाले बताउनुभयो ।

अर्को सामान्य जुस बनाउन सिकाइएको छ । यसमा चिनी, पानी, खाद्य रङलगायत प्रयोग गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्क्वास र जुसलाई नौ महिनाको लेबलिङ गरिएको छ । जुसको २५ र स्क्वासको एक सय ८० रुपैयाँ बोतल मूल्य पर्छ ।” तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती भने रहेको उहाँको भनाइ छ ।

तालिम पाएपछि सुन्तला किसान गणेश रावलले ठूला दाना बजारमा लगेर बिक्री गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्री गर्ने बताउनुभयो । यसअघि मसिनो दाना र बजारमा बिक्री नभएको सुन्तला चाम्रिएर, कुहिएर खेर जाने गरेको बताउँदै अब हातमा सीप भएकाले खेर जाने सुन्तलाको जुस बनाइ त्यसबाट आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

किसान रेखा गिरीले स्थानीयस्तरमा उत्पादन गरेको जुस निकै राम्रो रहेको र यसको माग धेरै रहेको बताउनुभयो । तालिमकै क्रममा तयार पारेको जुस गाउँघरमा धेरै गएको उहाँको भनाइ छ । अब भने गाउँघरमा खेर जाने सुन्तला सङ्कलन गरेर जुस बनाइ आम्दानी बढाउन सकिने उहाँको भनाइ छ । जुस उत्पादन तालिम निकै प्रभावकारी हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । रुकुम(पूर्व) को एक सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अहिले ८२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले फल दिइरहेको छ । यसवर्ष जिल्लाभर नौ सय ७५ मेट्रिक टन सुुन्तला उत्पादन भएको कार्यालयले बताएको छ ।