१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले तलबसहित के—के पाउँछन् सेवा, सुविधा ?(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभएको छ ।

साथै प्रथम चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । अहिले प्रतिनिधि सभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ । नयाँ दल नयाँ सांसदका कारण संसदमा कस्तो रौनकता छाउला भन्ने कौतुहलता आम मानिसमा बढेको नै छ । यससँगै आम सर्वसाधारण नागरिकमा अर्को चासको विषय बनेको सांसदहरुको तलब भत्ता । सांसदहरुले के के सेवा, सुविधा पाउँछन् ? कस्तो सेवा, सुविधा हुन्छ, तलव बाहेक पनि अन्य सेवा सुविधा के पाउलान् भन्ने सबैको चासो छ । न्युज एजेन्सी नेपालले यस सम्बन्धी आम सर्वसाधारणको चासोलाई मेटाउने प्रयास गरेको छ ।

प्रतिनिधि सभा सदस्यको पारिश्रमीक र भत्ता
प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।

त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन् । सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनि थप १ हजार रुपैयाँ पाउनेछन् ।

थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतिय श्रेणी सरहको स्वकिय सचिव नियुक्त गर्न दिनेछ । स्वकिय सचिवको सेवा सुविधा स्वयं स्वकियको नै खातामा हालिदिने गरिएको छ । सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् । त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसदको कामको सिलसिलामा विदेश जानुपरेमा संसद सचिवालयको सिफारिसमा राहदानी विभागले कुटनीतिक राहदानी उपलब्ध गराउने छ ।

त्यस्तै सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको सहायक छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।

सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था रहेको छ । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्ष सम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ ।