• ५ श्रावण २०८१, शनिबार
  •      Sat Jul 20 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए ★   हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने ★   हनुमन्ते पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान ★   कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे ★   द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि ★   स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरि नयाँ सडकमा पैदल मार्ग विस्तार गर्ने… ★   आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण: अर्थमन्त्री पौडेल ★   सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण ★   सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार ★   लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

‘क्रिसमस डे’ मनाइँदै



काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् ।

आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।