३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित विमान अवतरण
अ+ अ-

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् ।

निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु-याएका हुन् ।

उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स डाइरेक्टर) रुपेश जोशीले नवनिर्मित विमानस्थल पूर्णरूपमा उडानयोग्य भएको बताउँदै आगामी जनवरी १ देखि यही विमानस्थलबाट उडान हुने जानकारी दिनुभयो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले आगामी दिनमा हवाई उडान अझै बढी सुविधामय बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको रात्रि बिसाउनी पनि गर्ने बताउँदै उहाँले पोखराबाट भारतको वाराणसीलाई जोड्नका लागि सम्बन्धित ठाउँहरूमा पत्राचार गरिसकिएको जानकारी दिनुभयो । अनुमति पाएका अवस्थामा दिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यमा उडान गर्ने बुद्धको तयारी छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताउनुभयो । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

उडान सञ्चालनकै तयारीस्वरूप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटान गर्न बाँकी काम तीव्ररूपमा भइरहेको जनाइएको छ ।

जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान (हेलिकोप्टर र अल्ट्रालाइटबाहेक) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी गरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारीस्वरूप विमान कम्पनीले परीक्षण उडान गरिसक्दा यतिखेर समग्र पोखरेली हर्षित छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउनुहुन्छ । “विमानस्थल पोखराको गौरव हो, यसलाई सुव्यवस्थित रूपमा सञ्चालन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “आगामी जनवरी १ देखि विमानस्थल व्यस्तरूपमा चल्नुपर्दछ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने भएकाले यसको विशिष्ट महत्त्व रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधै पोखरा आउनसक्ने भएकाले यसको विशिष्ट महत्व रहेको उल्लेख गर्दै उहाँले रात्रिकालीन समयमा पनि उडान हुने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभयो ।

पोखरामा दैनिक २० हजारभन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवासको सुविधा दिन सकिने उहाँको भनाइ छ ।

पोखराबाट सिधै अन्तर्राष्ट्रिय सहरहरू जोडिनु यहाँका लागि महत्वपूर्ण उपलब्धि भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशिराज भण्डारीले बताउनुभयो । “अन्तर्राष्ट्रिय उडानसँगै यो विमानस्थल आन्तरिक उडानका लागि पनि हब बन्दछ”, उहाँले भन्नुभयो, “विमानस्थल १८ घण्टासम्म चल्न सक्ने विषय आएको छ, यसले यहाँको समग्र पर्यटकीय विकासमा ठूलो टेवा पु-याउँछ ।

विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए ।

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखेले बताउनुभयो ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।

तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । रासस