३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’
फाईल फोटो
अ+ अ-

जलेश्वर । पुसको कठ्याङ्ग्रिदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको बोरामा पराल नै कुचिएर बनाइएको ओढ्ने ओछ्याउनेमा गुट्मट्याएर रात कटाउनुपर्ने बाध्यता छ उनीहरुको । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहरहरुको जीवन वर्षौंदेखि यही बाध्यताले थिचिएको छ ।

खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६० वर्ष नाघिसकेका हुकुमा सदा आफ्ना १३ जना लालाबालासहित चिसो स्याँठसँग जुध्दै आउनुभएको छ । उहाँको शरीरमा चिसो छल्न सक्ने जति लुगाफाटा छैनन् भने फाटेको पातलो एकसरो कपडाले पनि ढाकेको छैन उहाँका छोराछोरी र श्रीमतीको शरीर ।

उहाँको झुपडीमाथि टुटेका झिक्राझिक्री थिए भने बारबेरसमेत केही थिएन । तिनै झिक्रा दाउरा बालेर त्यसकै वरपर रात बिताउनुपर्ने उहाँको अवस्थाले हुकुमाको आर्थिक अवस्थालाई झल्काउने मात्र नभई भटौलिया गाउँमा बसोबास गर्ने अन्य मुसहर समुदायको गरिबीलाई देखाउँछ ।

यस बस्तीमा कोही नयाँ व्यक्ति पुग्यो भने बालबालिकाहरु केही बाँड्ने मान्छे आयो भन्दै दगुर्दै झुम्मिन आइपुग्छन् भने उनीहरुका बाबुआमा पनि केही पाइने आशमा तत्काल आइपुग्दै भन्छन्, “हजुर जे लाइलछी से ओकरेसबके ददिऔ” (हजुर जे ल्याउनुभएछ त्यो उनीहरुलाई नै दिदिनुहोस् ।) ।

स्थानीय सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुट्टो ९लार० ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लास्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा चिसोसँगै लड्दै समय बिताउँदै आउनुभएको छ । उहाँले घरभरि न्यानो पार्न पराल ओछ्याउनु भएको छ भने ओढ्नका लागि जुटको ठूला–ठूला बोरामा पराल कोचेर बनाइएको सिरक राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हाम्रो ओढ्ने, ओछ्याउने सबै परार नै हो ।” आँगनमा खेल्दै गरेका उहाँका कुनै छोराछोरीका जीउमा पूरा कपडा थिएन ।

घरभित्रैबाट चिसोले काप्दै सीताले दुखेसो गर्दै भन्नुभयो, “हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है” ९हजुर हामी कहाँ कोही आउँदैनन् । मरिरहेछौ तर पनि कसैलाई कुनै मतलब छैन्० । विगत चार वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य रहेको उहाँको भनाइ छ । “ठूलो परिवार भएकाले खानपानकै जोहो गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु” भन्दै उहाँले थप पीडा पोख्नुभयो ।

सोही गाउँमा पाँच वर्षदेखि दमको रोगबाट ग्रस्त बन्नुभएकी ६५ वर्षीया अनरिया देवी सदा झोत्रो कम्बल ओढेर काप्दै हुनुहुन्थ्यो । उहाँले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भन्दै सहारा माग्नुभएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो, “हजुर मलाई पनि आफूसँगै लैजानोस्, नत्र यहाँ केही दिनमै मर्छु । मलाई बिरामीले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न त पतिले गराउँछन् न त छोराछोरीले नै मलाई माया गर्छन् ।” उहाँले आफूलाई चिसो बढेसँगै दमको समस्या बढ्न थालेको तर तातो न्यानो र पोषिलो खाना पर जाओस् दुई÷तीन दिनसम्म भोकभोकै पनि रहनुपरेको गरेको दुखेसो सुनाउनुभयो ।

स्थानीय ४५ वर्षीया कोशिला सदाले पनि दुई सातादेखि राति सुत्न पाउनुभएको छैन । उहाँले भन्नुभयो, “हजुर दिनभरि जसोतसो काटे पनि राति जाडोले सुत्न सकेको छैन । यही आगोकै रात बिताउनुपर्छ ।” दुई सातादेखि ह्वात्तै चिसो बढेपछि बालबालिका र आफू समेतलाई बचाउन रातभिर पातपतिङ्गरको घूर जलाएर सुत्ने गरेको उहाँ बताउनुहुन्छ । आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकाहरुलाई सुताउँदै आफू जाग्रामै बस्ने गरेको उहाँको भनाइ छ ।

गरिबीको कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उहाँका श्रीमान् दिनभरि मजदुरी गरेर कमाएको पैसामध्ये आधाभन्दा बढी मदिरामा उडाइदिने र बाँकी पैसाले उहाँको परिवारको धान्न मुस्किल हुने गरेको छ । हातमुख जोर्न नै धौधौ भएको बेला बालबालिकाहरुका लागि न्यानो लुगाफाटा र पोषिलो खानेकुरा धेरै परको कुरा बनेको छ । यस वर्ष मात्रै नभएर उनीहरुले वर्षौंदेखि जाडोयाममा यसैगरी समय काट्ने गरेको कोशिलाले सुनाउनुभयो । दिनमा घाम लागे खुसी हुने र बेलुका घाम ढल्दै जाँदा दुःखी हुँदै रातभरि घूरमा आगो ताप्दै रात बिताउनुपर्ने उहाँको बाध्यता छ । उहाँको घरमा पतिसहित पाँच साना बालबालिका छन् ।

बाक्लो हुस्सु र डम्म परेको कठ्याङ्ग्रिदो जाडोकै बीच बस्ती नजिकै धान खेतमा अर्काको धान बढार्दै गरेकी ७२ वर्षीया भुटीदेवी सदा टाढैबाट कराउँदै आफ्नो पीडा सुनाउन थाल्नुभयो । “हजुर, खान पाएकी छैन । घरमा अन्नपात केही छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन र यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ । केही सहयोग भए बाँच्ने आश पलाउने थियो ।”

कहाँ जाउँ, के गरुँ र कसरी बाँचु भन्ने चिन्ताले पिरोलिएकी उहाँ घरी आगो ताप्दै र घरी धान बढार्दै गर्नुभएको थियो । उहाँको सात बालबालिकासहित ११ जनाको परिवार छ । दैनिक रुपमा मजदुरी गरेपछि मात्रै उहाँको घरमा चुलो बल्छ । एक दिन पनि मजदुरी नभएमा त्यस दिन भनेकै भोकभोकै बस्नुपर्छ । जाडो याममा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । भुटीले भन्नुभयो, “हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस् । एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छौँ । अहिले ज्यान जोगाउनै धौधौ प¥यो ।”

उहाँसँगै खेतमा एउटा हात नभएका शारीरिक रुपले अशक्त ११ वर्षीय किसन सदाले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए भने कठ्याङ्ग्रिदै एउटै हातले धेरथोर धान बटुल्दै थिए । उनको पनि उही पीडा थियो, “हजुर राहतमा मेरो पनि नाम लेखिदिनुस् मैले पनि दुई दिनदेखि केही खान पाएको छैन् । मेरो पनि घरमा आमा, तीन दिदीबहिनी र मलगायत पाँचजना छौँ । कमाउने कोही नहुँदा एउटै हातले भए पनि भोको पेटमा काम गरिरहेको छु ।”

त्यही बस्तैभित्रै सानो खर ९पराल०को झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको देखाउँदै सिकिन्दर सदा भन्दै हुनुहुन्थ्यो, “आफैँ त कसैगरी जाडो सहन सकिरहेको छु । सानो बच्चालाई कसरी जोगाउनु । घरमा चारैतिरबाट हावा पस्छ । जाडोले मुटु नै हल्लाउँछ । बाक्लो ओढ्ने ओछ्याउने नहुँदा बच्चा जाडोले रुन थाल्छ । कसैगरी कतैबाट राहत दिलाइदिनुस् ।”

गरिबीको पीडामा परेका यस्ता थुप्रै उदाहरणहरु यस गाउँमा भेट्न सकिन्छ । बस्तीका झन्डै एक सय परिवार मुसहरको अवस्था त्यस्तै रहेको छ । जुनसुकै घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ । अभावै अभावमा जीवन काटिरहेका उनीहरुको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ । चिसो छल्न समयमै उनीहरुलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरा सहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुनसक्ने स्थानीय जोगिया सदाले बताउनुभयो ।

सधैँ गाँस, बास र कपासको अभाव रहेको सम्पूर्ण बस्तीभरि नै जाडोको कहर रहेको तथा उनीहरुको ज्यान कुनै पनि बेला जान सक्ने अवस्था रहे पनि उनीहरुलाई केही राहत दिनसक्ने अवस्था नभएको वडाध्यक्ष रामविलास राय बताउनुहुन्छ । उहाँले आफू चाहेर पनि मुसहरहरुका लागि तत्कालै केही गर्न नसक्ने तर यस विषयमा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलसँग सहयोगका लागि आग्रह गर्नेछु भन्नुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट सङ्घीय संसद्मा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ भने प्रदेश नं २ को प्रदेशसभा सदस्यमा लोसपा नेत्री रानीकुमारी तिवारी निर्वाचित हुनुभएको छ ।

जोगियासहित बस्तीका सम्पूर्ण पीडितहरुले स्थानीय मुसहरहरुलाई बढ्दै गरेको चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा सरकारी र गैरसरकारी प्रत्येक सरोकारवालासमक्ष ध्यानाकर्षका लागि आफूहरुको दुःख र पीडाको कुरा पु¥याइदिन सञ्चारकर्मीसँग आग्रह गरेका छन् । जाडोकै कारण यस गाउँमा बर्सेनि दुई÷चार जनाले अकालमै ज्यान गुमाउनु परेको छ ।

विगतमा आफूहरुलाई झूटो वाचा कसम खाएर विभिन्न प्रलोभनमा पार्दै भोट लिने गरेको तर जितेर गइसकेपछि कुनै वास्ता नराख्ने गरेको स्थानीयवासीहरु बताउँछन् । निर्वाचन जितेर गएपछि बस्तीमा कुनै पनि नेताहरु फर्केर आउँदैनन् भने आजसम्म मुसहरहरुलाई लक्षित गरेर कुनै कार्यक्रम सञ्चालन नगरिएको बस्तीका अगुवा रजिन्द्र सदाले बताउनुहुन्छ । मुलुकमा अनेक राजनीतिक परिवर्तन भए, तर यस गाउँका बासिन्दाले त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । रोग, भोक र कठ्याङ्गिँ्रदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरहरुको उद्धार र राहतका लागि जननिर्वाचित प्रतिनिधिहरुले ध्यान दिनुपर्ने स्थानीयवासीहरु माग गर्दछन् । देशमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि आफूहरुके पीडामा कुनै ध्यान नदिएको उनीहरुको भनाइ छ । रासस