• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ



भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने करोडौँको बाजीमा हारजितको खेल भएको छ ।

दुई राष्ट्र अर्जेन्टिना र फ्रान्सको अन्तिम खेलमा फ्रान्सको पक्षमा बाजी थापेका लामाले एकै रात एक लाख रुपैयाँ हारेका हुन् । यो हार त लामाको फाइनल खेलमा भएको हो । यसअघि पनि उहाँले विश्वकप सुरु भएदेखि नै पटक पटक विभिन्न देशको पक्षमा राखेको बाजीमा तीन लाख रुपैयाँ हारेका हुन् ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्ने कमल खत्रीले विश्वकपको अन्तिम खेलमा रु ५० हजार बाजीमा हारे । राधेराधेको एक होटलमा विश्वकप हेर्दा आफ्नै सहकर्मीहरूसँग बाजी राखेका उनले विश्वकपको अवधिभर तीन लाख रुपैयाँ बाजीमै सिध्याए ।

यी त उदाहरण मात्रै हुन्, आइतबार राति सम्पन्न फिफा विश्वकपमा खेल भइरहँदा भक्तपुरमा मात्रै बाजीमा करोडौँको हारजितको खेल भएको छ । त्यतिमात्रै होइन विश्वकपकै बहानामा अनलाइनमार्फत सट्टाबाजी लगाएर जुवा खेल्नेरखेलाउने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेलेलाई आज पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले फिफा विश्वकप फुटबलका खेलहरूमा बेटिङ एप्लिकेसन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको परिसरका सूचना अधिकृतसमेत रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

उनीहरूले वनएक्स बेटमा सट्टाबाजी गराउन विगत एक वर्षदेखि सट्टाबाजी गर्ने एजेन्टका रूपमा कार्य गर्न थालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैंकमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सातवटा बैंक खाताबाट विगत एक वर्षमा दुई करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँको कारोबार भएको पाइएको छ ।

भेलेको विभिन्न १९ वटा बैंक खाताको कारोबार माग गरिएकामा हालसम्म पाँचवटा खाताको विवरण प्राप्त भएको र ती खातामा ६० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको पाइएको छ । खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाउने र सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चौगुठी र भेले सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । रासस