काठमाडौँ उपत्यका खानेपानीको हिसाबले निकै समस्याग्रस्त सहर हो । विकसित समाजमा प्रत्येक दिन प्रतिव्यक्ति १५० देखि २०० लिटर पानी खपत हुन्छ ।
तर मुलुकको राजधानीमा त्यो सम्भव कहिले होला ? पानी मात्र दिनु ठूलो कुरा होइन । पानी कति शुद्ध छ वा पिउनयोग्य छ भन्ने कुरा महत्त्वपूर्ण हो ।
काठमाडौँका अधिकांश स्थलमा ढल र खानेपानीको पाइप एउटै मंगालबाट गएको छ । जहाँ समान्यरुपमा लिकेज हुँदा नागरिकको धारामा कस्तो पानी पुगेको होला ?
विकसित मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष एक वा दुईभन्दा बढी व्याक्टेरिया हुनु हुँदैन । तर काठमाडौको धाराको पानी कल्चर गर्ने हो भने लाखौँ मात्राका व्याक्टेरिया भेटिन्छ । जसका कारण पानी ल्याउने मात्र होइन गुणस्तरीय पानी आवश्यक हुन्छ ।
यसका लागि पूर्वाधार नै महत्त्वपूर्ण कुरा हो तर हामीकहाँ सबै सतही अध्ययन र अनुमान तथा लहडका भरमा पूर्वाधारको काम हुन्छ । नत्र कुनै पनि मुलुकमा ढल र खानेपानीको पाईप सँगसँगै हुँदैन।
खानेपानी स्वच्छ नहुँदासम्म त्यो सहरलाई विकसित सहर मान्न सकिँदैन । पानीकै कारण पनि नेपाल विकसित राष्ट्रको मापदण्डमा प्रवेश गर्न सक्दैन ।
दुनियाका कुन सहर होला वर्षौंसम्म पनि राज्यले वितरण गरेको घारमा पानी नआउने ? नागरिकप्रति जवाफदेही भएको सरकार भएका मुलुकमा १ घण्टा मात्र पानी रोखिए उथलपुथल हुन्छ । तर यहाँ त यही महिना पानी आउँदैन भनेर राज्यले पानी रोक्दासमेत नागरिक मौन रहन्छन् । विकिसित देशमा केही समयका लागि पानी वितरण रोकिने हो भने पूर्वसूचना दिएर वैकल्पिक व्यवस्थासमेत मिलाइएको हुन्छ ।
नदी सभ्यता संस्कृतिको धरोहर हो । काठमाडौँ उपत्यकाभित्र रहेको तीन वटा नदी मृत नदीजस्ता भइसके । बिग्रेको सहर कस्तो हुन्छ भन्दा काठमाडौँ जस्तो भनेर देखाउने अवस्था आइसक्यो ।
अब जमिनमुनिको पानीको सुरक्षालाई पहिलो प्राथामिकतामा राख्नुपर्छ । ठूला ठूला संरचना बनाउने र उही तरिकाले जमिनमुनिको पानी निकाल्दै जाने हो भने जमिन भासिएर कुनै पनि बेला डरलाग्दो जोखिम हुन सक्छ ।,
वैकल्पिक स्रोतको पहिचान र तिनको व्यवस्थापन तथा ढलको मापदण्ड निर्धारण गर्नुपर्दछ ता कि प्रयोग गरेको ८० प्रतिशत पानी ढलको संरचनाभित्र पठाउनु पर्दछ भने त्यसलाई पुनः प्रशोधन गरेर नदीमा पठाउनु पर्दछ ।
आजसम्म राज्यले खानेपानीको विषयलाई समस्याको रुपमा लिएन । पानीमाथि पटक पटक फोहरी राजनीति भयो । नागरिक पनि शिक्षित त भयौँ तर चेतनशील भने भएनौ कि ?
काठमाडौँसहितका सहरहरुमा पूर्वाधारको बारेमा योजना नै बनेन। जहाँसुकै पनि मानवबस्ती नदी सभ्यतासँग जोडिएको हुन्छ । सहरको जनधनत्व कति छ र त्यसका लागि आवश्यक पर्ने पानी कति भन्ने कुरा न तथ्यांक छ न त अध्ययन नै भएको छ ।
नागरिकको घरमा खानेपानी छैन । निर्वाचनका बेला सडक पखाल्ने योजना सुनाउँछन् । खानेपानी, ढल र फोहरमैला व्यवस्थापनप्रति राज्य संवेदनशील हुनैपर्छ । राज्य उत्तरदायी नहुँदाको परिणाम आमनागरिकले भोग्नु परेको छ ।
दिनानुदिन जनधनत्व बढ्दै गएको छ । यसका लागि आवश्यक पर्ने पानीका स्रोतका व्यवस्थापन कहाँ कहाँबाट कसरी हुन्छ र प्रयोग गरिएको पानीलाई कहाँ कहाँ प्रशोधन गरेर नदीमा पठाउने भन्ने कुरा बुझ्नु जरुरी छ ।
वातावरणविद् डा. रुपक अर्यालसँग गरिएको कुराकानीमा आधारित । वातावरणविद् अर्यालसँग करिब २० वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् ।