• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै



काठमाडौँ । कतारमा जारी फिफा विश्वकपले आज विजेता पाउँदैछ । नोभेम्बर २० बाट सुरु भएको फुटबलको महाकुम्भ आज सकिँदैछ ।

उपाधिका लागि दुई–दुई पटकका विश्वविजेता अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । दुबै टिम आफ्नो तेस्रो उपाधि जित्नका लागि आतुर छन् । फाइनल खेल लुसेल रंगशालामा नेपाली समयानुसार ८ः४५ बजे सुरु हुनेछ ।

समूह ‘डी’बाट विजेता रही नकआउट चरणमा प्रवेश गरेको साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाउँदै फ्रान्सले सेमिफाइनलमा मोरक्कोविरुद्ध २–० गोलको जितसहित फाइनलको यात्रा तय गरेको हो ।

यता, समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–३ गोलले हराएको अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले जारी विश्वकपमा समान ५–५ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेकाले यो विश्वकपको फाइनल थप रोचक बन्न पुगेको छ । ३५ वर्षीय मेसी पहिलोपटक विश्वविजेताको ट्रफि उचाल्न चाहन्छन् भने अर्कोतर्फ मात्र २३ वर्षका एम्बाप्पे दोस्रोपटक ट्रफि उचाल्ने दाउमा छन् ।