• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

‘महापुरुष’ एक्काउनौँ दिनमा



काठमाडौँ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।

कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन् ।

“दर्शकको साथले थप ऊर्जा मिलेको छ”, उनले भने । नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यस अगाडि निर्देशन गरेको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो ।

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बनेका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन् । “उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ”, उनले भने ।

अमेरिका भ्रमण सकेर नेपाल फर्किएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए । “टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ”, अभिनेता आचार्यले भने ।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन् ।