• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८



काठमाडौँ । आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।

आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो । रु दुई लाख नगद र सम्मानपत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिनुभएको हो । लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहनुभएकाले उहाँका भाइले पुरस्कार ग्रहण गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक रहेको बताउनुभयो । शरणार्थीलाई दमित गर्ने काम भइरहेको उल्लेख गर्नुहुँदै उहाँले परिचयपत्र उपलब्ध गराउन पनि हिच्किचाउन नहुने बताउनुभयो । घृणित अवस्थामा पनि प्रेम अङ्कुरण हुन्छ भन्ने देखाउन लेखक सफल हुनुभएको अध्यक्ष पोखरेलले सुनाउनुभयो ।

कोषका संयोजक उत्तम बस्नेतले भर्खर स्थापना भएको कोषले साहित्यकारलाई प्रोत्साहनस्वरूप पुरस्कार दिन थालेको बताउनुभयो । कोषले पहिलो पुरस्कार नै ‘दुङाल’लाई दिएको उहाँले सुनाउनुभयो । आगामी वर्षमा पनि साहित्यकारलाई छनोट गरी पुरस्कार अर्पण गरिने कोषले जनाएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, समीक्षक राजकुमार बानियाँलगायतले प्रकृति, संस्कृति र प्रेमलाई उपन्यासकार केशरीले उपन्यासमा रोचक तरीकाले प्रस्तुत गरी पाठकको ध्यान तान्न सफल हुनुभएको बताउनुभएको थियो ।

साहित्यकार केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ २०५८, र उपन्यासहरू ‘पुरुत्थान’ २०७२ र ‘सुवर्णलता’, २०७४ प्रकाशन भइसकेको छ । उहाँको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा रहेको जनाइएको छ ।