२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चुरे विनासले बस्ती नै सखाप-फोटो फिचर

चुरे विनासले बस्ती नै सखाप-फोटो फिचर
अ अ+ अ-

धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन ।

तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् । हाल उनीहरु गाउँभन्दा करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगेर बसोबास गरेका छन् । त्यस ठाउँलाई अहिले क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ ।

“केही वर्ष अघिसम्म यहाँ मासि बस्थे, तिनले खाने पानीको इनार यही हो”, सामुदायिक वन उपभोक्ता समिति महासङ्घ प्रदेश–२ का अध्यक्ष सोमप्रसाद शर्माले भन्नुभयो, “अचानक एक दिन बाढी आयो र बस्ती बगायो ।” पैँसठ्ठीभन्दा बढी घरपरिवार रहेको त्यो बस्तीमा अहिले खाली जमिन छ । केही पोखरी खनिएका छन् र ठूलो क्षेत्र बगरमा परिणत भएको छ । विसं २०४५ मा झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै बगरमा परिणत भयो । अहिले यहाँ बस्ती थियो भन्ने कुनै प्रमाण यहाँ भेटिँदैन, एउटा इनारको भग्नावशेष बाहेक ।

अध्यक्ष शर्माले भन्नुभयो, “यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंँ ।” यस्ता थुप्रै बस्ती अन्यत्र पनि विस्थापित बनेका छन् । तराई–मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टिठलाग्दो दृष्य छन् । अनियन्त्रित उत्खनन र चुरे दोहनले केहीवर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी बिलाएर गएको छ ।

यो पनि पढ्नुहोस –पहिराले छियाछिया चुरे: जोखिममा बुटवल

पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन् । खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिप बोरिङ बन्द भएपछि तराई–मधेसका अधिकांश क्षेत्र मानव वसोवास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन् ।

तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका–८ मा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ । करिब दुई सय वर्ष पहिला यस गाउँमा थारू समुदायका मानिस भारतको मुङ्गेरबाट आएका हुन् भन्ने बुढापाका बताउँछन् । यस गाउँमा शोभित चौधरीका बुढा हजुरबुवा अमृत पोद्धार(चौधरी) विर्तावाल हुनुहुन्थ्यो । यस भेगमा उनको ठूलो सम्मान थियो । पछि पहाडी समुदायका मानिसको प्रवेश हुन थालेपछि यिनीहरूको प्रभाव घट्दै गएको देखिन्छ ।

विसं २००७ पहिले नै यस भेगमा जङ्गल फँडानीको क्रम सुरु भइसकेको थियो । पाल्पाबाट १९९० सालतिर नै आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जङ्गल फँडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए ।

विसं २००७ को क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए । आन्दोलनको क्रममा उनको खातीहरू (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती)सँग निकट सम्पर्क भयो ।

हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति मानिएका दिगम्बरले त्यस भेगमा जङ्गल फँडानी गरी नयाँ बस्ती विस्तार गरेकाले उनको नामबाटै बस्तीको नाम दिगम्बरपुर राखियो । पछि बलबहादुर खाती गाउँका जमिन्दार र हर्ताकर्ता भए ।

पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ चार सय मिटर मात्र रहेकामा अहिले हजार मिटरभन्दा पनि बढी भएको छ । बर्सेनि जलाद खोलाले ५–६ बिघा जग्गा कटान गर्ने गर्दछ । विसं २०४५ मा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो ।

यहाँ बसोबास गर्दै आउनुभएका ७४ वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो उजाडस्थल हेर्न पुग्नुहुन्छ । उहाँको बाल्यकालदेखिका थुप्रै सम्झना झलझली आउँछ । “हेर्दाहेर्दै सबैथोक लगिदियो”, बुढाथोकीले भन्नुभयो, “म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ ।”

रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै हुनुहुन्थ्यो । “बा आमा मिलेर खेतीपाती सुरु गर्नुहुन्थ्यो”, उहाँले सम्झनुभयो, “हामी त्यहीँ खेलेर हुर्कियाँै ।”

आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाउनुभयो । जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुन्थ्यो । गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो । त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो ।

ललितबहादुरले भन्नुभयो, “विसं २०४२ ताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागदेबेली परेर बग्न थाल्यो । सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो । अर्को वर्ष अझ बढी कटान भयो ।” विसं २०४४ मा गाउँभरि नदी बग्न सुरु भयो । जुन दिन खेतमा नदी पस्यो, त्यसै दिनदेखि नै यहाँका बासिन्दाको उठिबास भयो ।

उहाँले भन्नुभयो, “अरू गाउँले त तत्कालै छाडेर हिँडिहाले । म चाहीँ किनार किनार सर्दै त्यतै बसिरहेँ । अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सीप नलागेर मैले पनि बसाइँ सरँे ।” उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो । अहिले अन्यत्रबाट थपिएकासमेत गरेर डेढ सयभन्दा बढी परिवार यहाँ बसोबास गर्दछ ।

खेती किसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले जानेको अरू कुनै काम थिएन । बिहे भएर गएकी छोरीले किनिदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर उहाँका श्रीमान्–श्रीमती बस्दै आएका छन् । “बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु । मुस्किलले जीवन चलिरहेको छ ।”

यसरी विस्थापित हुनुपर्दाको समस्या उहाँलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ । त्यो गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन । चारकिल्ला ठोकिएजस्तो थियो यो ठाउँ । यहाँ पहाडे र मधेसी परिवारको मिश्रित बसोबास थियो । उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सबै एकसाथ बिल्लिबाँठ भयौँ ।”

आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा रहेको यहाँ बताउनुहुन्छ । उहाँका अनुसार छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि फेरि नदीले बाटो फेरेको थियो ।

छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्नुहुन्छ, “उहाँ केटाकेटी हुञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो । त्यतिबेला बढीमा सय मिटर चौडा थियो ।”

नदीतर्फ औँल्याउँदै उहाँ भन्नुहुन्छ, “अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ ।” छेडीपोखरीमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो । अहिले नदी योबीचकै धारबाट बगिरहेको छ । पछिल्लो समय नदीको तटबन्ध गरिए पनि बर्सेनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउनुहुन्छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यालयमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन् ।

चुरे संरक्षणको निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरुले औँल्याएका छन् । वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा विजयकुमार सिंह दनुवार भन्नुहुन्छ, “जुन मात्रामा चुरेले विनास भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ ।”

तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ । काठको चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको बताउनुभयो । वन फँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ ।

वर्षामा आउने भेलले ढुङ्गा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ । चुरेभन्दा माथिको महाभारत पर्वत शृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ । महाभारत शृङ्खलाका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमिकरण हुनेछ । “महाभारतका पहाड उत्खनन गर्दा २५÷३० प्रतिशत मात्रै निर्यातयोग्य ढुङ्गा, गिट्टी निस्कन्छ, बाँकी ७०/७५ प्रतिशत ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ”, डा सिंह भन्नुहुन्छ, “दर्जनौँ पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन ।”

जयकुमार साह/ रासस