२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

शीतलहर चल्न थालेको नेपालगञ्जमा नेपथ्यको न्यानो

शीतलहर चल्न थालेको नेपालगञ्जमा नेपथ्यको न्यानो
अ अ+ अ-

नेपालगंज । दिउँसो अबेलामात्र घाम देखिएको नेपालगंजमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो ।

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो । किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनैबेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो । डोल्पा दुनैका वासिन्दा लक्ष्मीकान्तले यो गीत दसकौंअघि सुनेका थिए । त्यसमा केहि जुम्लाका प्रभावहरु मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दसकदेखि नेपथ्यले गाउँदै आएको छ । अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिनमात्रै डोल्पादेखि नेपालगंज आएका थिए । डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगंज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए ।

‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पु¥याइरहेको छ,’ लक्ष्मीकान्तको प्रतिक्रिया थियो, ‘आफैले संकलन गरेको गीत यसरी भब्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ ।’

यसरी दुइवटा म्यूजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो । नेपथ्य ब्याण्डकै यो पहिलो सिर्जना यसअघि गतसाता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो ।

स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

यसरी दस वर्षको अन्तरालपछि नेपथ्य नेपालगंजमा दोश्रोपटक प्रस्तुत भएको छ ।

अघिल्लोपटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सन् २०१२ मा यहाँ आएको थियो । त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाला पहिलोपटक नेपालगंजका दर्शकहरुमाझ खुला आकाशमुनी बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ ।

बिराटनगर, वीरगन्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौ प्रस्तुती थियो । अघिल्ला कन्सर्टहरु जस्तै यसमा पनि मैदान भरिएका दर्शकहरुको उत्साहपूर्ण भब्य उपस्थिती देखिन्थ्यो ।

बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोश्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । त्यतिबेला सँधैजस्तै नेपालगंजमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो । कार्यक्रम अघि बढ्दै जानेक्रममा टोलीले ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो ।

त्यसपछि भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे ।

‘संगीतसँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगंजमा जम्मा भइ यो ठाउँ गुलजार बनाइदिने तपाइहरु सबैलाई धन्यवाद ।’

त्यसपछि उनले सुरुगरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए ।

‘जोमसोम छेउमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरारु’ अमृतले नेपालगंजकै मास्तिर रहेका भेगको सुन्दरताबारे उल्लेख गर्दै थपे, ‘भाग्यले जन्म लिएको यस्तो देशमा सबैले घुमौ है ।’
संसारभरिका मानिस घुम्न आउने यो मुलुकमा हामीहरुले झनै स्वदेश घुम्नुपर्ने सल्लाह दिँदै उनले भने– ‘खाएको कुरा हराएर जान्छ, देखेको सम्झना कहिल्यै मेटिदैन ।’
त्यसपछि अमृतले धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

अमृतले नेपालगंज आएकोबेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरु भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झे र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाए ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए ।

घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

‘यहाँभन्दा माथि कर्णालीमा हाम्रै दाजुभाइ सिटामोल नपाएर मनुपर्ने अवस्था छ भने तल यी सहर बजारका सडकमा आश्रितहरुको बिजोग देख्नुपर्छ,’ गायक अमृत भनिरहेका थिए, ‘सडक आश्रित मुक्त मुलुक बनाउने मानवसेवा आश्रमको प्रयासमा सबैले सघाइदिऊ है।’

गुरुङले मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को नेपालगंजस्थित शाखा कार्यालय भ्रमण गरेका थिए । त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए ।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नेपालगंज रंगशालामा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘समाजलाई फेर्छु भन्नेहरु आफै फेरिएको देख्दा हामी तीनछक परेका छौं । देश बनाउन अब हामी नै एकजुट बनौं है ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो श्रृंखलावद्ध कन्सर्टले नेपालगंजमा लगातार पाँचौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘नेपालगंजमा सडकमा आश्रित आमा बुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं ।’

हाल सुर्खेत रोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगंजकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना लिएको छ ।

नेपालगंजको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् शुक्रबार धनगढीतर्फ प्रस्थान गर्दैछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढी रंगशाला’मा नेपथ्य पुस ३ गते आइतबार प्रस्तुत हुँदैछ ।

 

तस्बिरहरु- दिपित राज र नेपालय