९ माघ २०८१, बुधबार
,
Latest
आगामी भदौ २०,२१ र २२ मा विधान महाधिवेशन गर्ने एमालेको निर्णय कालिका नगर अस्पताललाई आवश्यक सहयोग हुन्छ : स्वास्थ्यमन्त्री पौडेल अनाधिकृत फिजियोथेरापी सेवा रोक्न फिजियोथेरापी सङ्घको आग्रह पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन नीति, विधि र पद्दतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन पूर्ण विद्युतीकरण घोषणाको तयारीमा मधेस प्रदेश “डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक” स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदूषण जाँचमा पास नहुने सवारी साधनलाई एक लाख जरिवाना गरिने



अ+ अ-

काठमाडौं । सरकारको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई रु एक लाखसम्म जरिवाना गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो ।

हाल सवारी साधनमा धुँवा परीक्षण गर्दा तोकिएका मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको छ । विभागले आज एक सूचनामार्फत पुस १ गतेपछि भने विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना हुने जनाएको छ । विभागले सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाइ जाँचपास गराएर मात्र सार्वजनिकस्थानमा सञ्चालनमा ल्याउन अनुरोध गरेको छ ।

विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलका अनुसार जुनसुकै समयमा विभागबाट छड्के जाँच हुनसक्ने र प्रदूषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास अनुत्तीर्ण हुने सवारी साधनलाई जरिवानालगायतका कारबाही हुनेछ ।

हिउँदको मौसममा काठमाडाँै उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रदै गएको छ । वायु प्रदूषणका मुख्य कारकमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहर जलाउँदा निस्कने धुँवा प्रमुख कारण हुन् । वातावरण विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनको धुँवा निष्कासनको अवस्था अत्यन्त दयनीय पाइएकाले उक्त सूचना जारी गरिएको हो ।

आगामी दिनमा विभागले सवारी साधनको धुँवा निष्कासनको अवस्थाको परीक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्ने जनाएको छ । साथै आफ्नो टोल छरछिमेकमा खुला रूपमा कोही कसैले फोहर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी विभागमा गराउनसमेत अनुरोध गरिएको छ । यस्तो जानकारी दिनेको परिचय गोप्य राखि दोषीमाथि नियमानुसारको कारबाही हुने सूचनामा उल्लेख छ ।रासस