२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको ‘आममाफी’ जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ : वरिष्ठ नेता नेपाल



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले  ‘आममाफी’ दिने अभिव्यक्ति जिब्रो चिप्लिएर नआएको बताएका छन् । आफू निकट नेताहरुसँग नेता नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण अझै बनिनसकेको बताएका हुन्। 

 ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपालले भने । 

आफू पार्टी एकताको पक्षमा रहेपनि ओलीले संकटमा परेपछि एकताको हतारो गर्ने, तर फेरि अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने गरेको नेता नेपालले बताए ।

आफू जहिलेपनि पार्टी एकताको निम्ति अडिक हुने उनले बताए । ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ नेपालको भनाइ छ ।

उनले दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाललाई अर्को अध्यक्ष बनाउनु पर्ने प्रस्ताव छ । खनाल स्वास्थ्य समस्याका कारण अहिले दिल्लीमा उपचाररत छन् । ‘दुई अध्यक्ष हुँदा झलनाथ खनाल हुने उहाँ (माधव नेपाल) को कुरा छ,’ एक नेता भन्छन् ।

पार्टीभित्र सबैले सम्मानको अनुभूति गरेर मात्रै एकता हुने नेता नेपालको धारणा रहेको एक नेताले बताए । उनका अनुसार नेता नेपालले एमालेको दोस्रो अध्यक्ष नबन्ने अडान लिएका छन् । ‘तेस्रो अध्यक्ष त पहिले पनि प्रस्ताव गरिएको हो । अहिले दोस्रोमा के भिन्नता छ, यो मान्नै कुरै हुन्न,’ नेता नेपालको भनाइ छ ।

सार्वजनिक अभिव्यक्तिबाट सुनेको, तर अध्यक्षको प्रस्ताव नआएको र आफूले पनि नमागेको बताउने नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाउ दिएका छन् ।