४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा
अ+ अ-

काठमाडौं, मंसिर १४ । दुई दशकयताको नेपाली साहित्यमा अत्यधिक चर्चित उपन्यास ‘पल्पसा क्याफे’ नाटकका रुपमा पनि काठमाडौंका दर्शकहरूमाझ प्रदर्शित भइसकेको छ । अब भने त्यहि नाटकलाई पब्लिकेशन नेपालयले पाठकसामु पुस्तकका रुपमा प्रस्तुत गरेको छ ।

बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको छ ।

विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए । कवि पराजुलीको रोचक प्रस्तुतिलाई दर्शकहरूले अभिरुचिपूर्वक ग्रहण गरेका थिए ।

सो अवसरमा उपन्यासलाई नाटकका रुपमा पुनरलेखनको अनुभव सुनाउँदै सुरज सुवेदीले भने – ‘मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको छुः कतिपय पात्रको भूमिकालाई ‘रिभर्स’ समेत गरेको छु ।’ उनले थप प्रष्ट्याए’ – झण्डै दुईदशक अघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदाः अझ भनौं एउटा उपन्यासलाई नाटकमा रुपान्तरण गर्दा यो पुस्तक उपन्यास जस्तै भने छैन ।’ नाट्य लेखक सुरजले उपन्यासलाई नाट्य रुपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको पनि उल्लेख गरेका थिए ।

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेशन नेपालय र भारतबाट पनि ‘र्‍याण्डम हाउस’ ले १२ वर्षअघि प्रकाशन गरेको थियो । यो क्रमलाई पछ्याउँदै उक्त उपन्यासको कोरियन, फ्रेन्च र सिंहली भाषाका अनुवाद पुस्तकहरू पनि प्रकाशित भइसकेका छन् ।

यसै क्रममा गत वर्ष लेखक सुरज सुवेदीले यस पुस्तकलाई नाटकका रुपमा रुपान्तरण गरेका थिए । सुरजले गरेको रुपान्तरणमा आधारित दुइ घन्टाभन्दा लामो नाटकलाई विमल सुवेदीले निर्देशन गरेका थिए ।

थिएटर भिलेजको आयोजनामा यो नाटकलाई मण्डला थिएटरमा प्रस्तुत गरिएको थियो । त्यसै क्रमलाई निरन्तरता दिँदै मण्डला थिएटरमै यस पुस्तकको विमोचन आयोजना गरिएको हो । थिएटरमा हाल नाटक महोत्सव चलिरहेको छ ।

‘यो नाटकभरि उपन्यासकै झल्को आइरहन्छ,’ सुरजले गरेको रुपान्तरणबारे लेखक एवं पत्रकार वसन्त बस्नेतको टिप्पणी छ, ‘तर, नयाँ पटकथामा उनिएका यसका दृश्य र संवादहरूले नयाँ स्वाद बोकेको छ ।’

उपन्यासले द्वन्द्वकालीन समयलाई प्रतिनिधित्व गरेको भएता पनि नाट्य रुपान्तरणमा युद्धका कथा मात्र नभइ त्यसका असरहरूलाई पनि समेट्ने प्रयत्न गरिएको लेखक सुरज बताउँछन् । ‘उपन्यासले भन्न खोजेको कुरालाई अहिलेसम्म पनि खोजिरहने काम यो नाटकले गरेको छ,’ सुवेदी थप्छन्, ‘त्यसैले यो पल्पसाले १५ वर्षमा तय गरेको यात्रामा आधारित नाटक हो ।’

लेखकका अनुसार उपन्यासमा त्यसका नायक दृश्य र नायिका पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । उपन्यासलाई नाटकमा रुपान्तरण गर्ने कार्य कोभिड महामारीका बेला चलेको बन्दाबन्दीकै चरणमा सम्पन्न भएको जानकारी पनि लेखक सुवेदी दिन्छन् ।

सुवेदीले गरेको उपन्यासको रुपान्तरणलाई उपन्यासकार नारायण वाग्लेले गजब लागेको भनेर प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यसका निम्ति सुरजलाई धेरै धन्यवाद र आभारसमेत प्रकटगरेका छन् । ‘उपन्यासलाई नाटकीय रुप दिएर पात्रहरूलाई जिवन्त बनाइदिएकामा धन्य भएँ,’ वाग्ले थप्छन्, ‘यसले हिजोको संकटका मुद्दालाई आजका युवा दर्शकहरूसँग तादात्म्य जोडिदिएको छ ।’

यो पुस्तकको आवरण तयार पार्दा ‘पल्पसा क्याफे’ उपन्यासको पहिलो संस्करणकै झलक दिन खोजिएको छ भने नाटकमा पल्पसा भएर अभिनय गर्ने नायिका श्रृष्टी श्रेष्ठलाई नै मोडलका रुपमा प्रयोग गरिएको छ ।

‘पल्पसा क्याफे’ पब्लिकेशन नेपालयको पहिलो प्रकाशित पुस्तक थियो भने ११२ पृष्ठको यो नाट्य रुपान्तरण पनि यस पब्लिकेशनबाट प्रकाशित पहिलो नाट्य पुस्तिका बन्नपुगेको छ ।

दुइ सय ९५ रुपैयाँ मूल्य राखिएको यो कृति मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।