१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली
अ अ+ अ-

गलेश्वर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने दोसल्ले गाउँ ।

शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ ।

“हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भन्नुभयो, “गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले रु चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।”

दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् ।

भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो । “पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भन्नुभयो, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।”

सुन्तला खरिद गर्न काठमाडाँै, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्नुहुन्छ, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।”

यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ का दरले सुन्तला खरिद गर्छन् ।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा रु ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो ।

तथ्याङ्कमा म्याग्दीका सुन्तला

म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई रु १० करोडभन्दा धेरैको कारोबार भएको बताउनुभयो ।

अघिल्लो आव २०७७/७८ मा म्याग्दीको सुन्तलामा ‘चाइनिज सिड्रस फुडफ्लाई’ नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर गत आर्थिक वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिम, प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिनुभयो ।

बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादन बढ्दै जान थालेको छ । गत वर्ष सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले रु ११ लाखको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मङ्गला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगङ्गाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा झन्डै पाँच सयजना किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् । रासस