• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

पूर्वप्रधानमन्त्रीहरुको नतिजा, कोही दोब्बर मतले विजयी त कोहीलाई अग्रतामा आउन हम्मेहम्मे



काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसक्नुभएको छ । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल जारी मतगणनामा अगाडि हुनुहन्छ भने पूर्वप्रधानमन्त्री खनाल मतगणनामा पछि पर्नुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा निर्वाचन क्षेत्र नं १ बाट २५ हजार पाँच सय ३४ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो ।

यस्तै झापा निर्वाचन क्षेत्र नं ५ बाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरसहित विजयी बन्नुभएको छ । उहाँले ५२ हजार तीन सय १९ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत प्राप्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले हालसम्म २१ हजार ७५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा मतगणना जारी छ ।

रौतहट क्षेत्र नं १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम गरिराख्नुभएको छ । उहाँले २३ हजार एक सय ४९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार गुप्ताले १८ हजार दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने जारी मतगणनामा पछि पर्नुभएको छ । इलाम क्षेत्र नं १ मा एमालेका महेश बस्नेतले १० हजार दुई सय ७८ मत पाउँदा पूर्वप्रधानमन्त्री खनालले आठ हजार सात सय ८० मत मात्र पाउनुभएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द यसपटकको निर्वाचनमा उम्मेदवार बन्नुभएन ।