१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता



अ+ अ-

बनेपा । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका कर्मचारीको टोलीले भत्ता वितरण गर्न शुरु गरेको हो ।

टोलीले घरघरमा नै पुगेर मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ । सोही क्रममा आइतबार वडा नं २ का २० व्यक्तिलाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको थियो । 

बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले बताउनुभयो । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा तीन हजार २९१ रहेका छन् । त्यसमध्ये मासिक रु तीन हजार भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक एक हजार ९०२ रहेका छन् भने रु दुई हजार मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको सङ्ख्या १२१ रहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै रु दुई हजार मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३९३ तथा रु दुई हजार नै भत्ता पाउने एकल महिला ५०२ रहेका छन् । त्यसैगरी मासिक रु तीन हजार भत्ता पाउने पूर्ण अपाङ्गता भएकाको सङ्ख्या ७१, मासिक रु एक हजार ६०० पाउने आंशिक अपाङ्गता भएकाको सङ्ख्या ७५ तथा मासिक रु ४०० भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि पाँच वर्षसम्मका) को सङ्ख्या  २२७ रहेको नगरपालिकाको सामाजिक सुरक्षा शाखाले जनाएको छ । 

नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमा नै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । यसपटक पनि आइतबारबाट शुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमशः सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यस वर्षदेखि ज्येष्ठ नागरिकका लागि मुस्कानसहितको सेवाअन्तर्गत दाँत राख्ने, कान नसुन्नेका लागि सहयोगी उपकरण व्यवस्था गर्नेलगायत योजना अघि सारेको नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताउनुभयो ।