• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

मतदानमा नागरिकको उत्साह देखिएन,यो परिस्थिति विचारणीय: जियोक



काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा र प्रदेश सभाको आज भएको निर्वाचनमा नागरिकको उत्साह नदेखिएको जनाएको छ ।

आम निर्वाचनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै जियोकले पछिल्लो समयमा मतदाताहरुको चाप बढ्ने अपेक्षा गरिएको भए पनि मतदानको कूल अनुपात विगतको भन्दा उत्साहजनक हुन सक्नेमा विश्वास गर्न सक्ने अवस्था नदेखिएको भन्दै यो परिस्थिति विचारणीय देखिन आएको जनाएको छ ।

प्रतिवेदन अनुसार निर्वाचन आचार–संहिताको सामान्य रुपमा पालना गर्ने नै प्रबृति देखिएकोले सन्तोषजनक नै रहेको जनाइएको छ । प्रतिबेदन अनुसार केही स्थानमा आचारसंहिता उल्लंघनका संकेतहरु देखिएकोले तत्काल प्रभावकारी कारवाहीको आवश्यकता महसुस भएको जनाइएको छ ।

निर्वाचन प्रक्रिया र व्यवस्थापन विगतभन्दा सुधार गरिएको, सहज, सुविधायुक्त, शान्तिमय र स्वीकारयोग्य हुँदै गएकाले लोकतन्त्रलाई परिपक्व र सुदृढ बनाउनमा यसले महत्वपूर्ण योगदान दिन सक्ने निश्कर्ष जियोकको छ ।

प्रारम्भिक प्रतिवेदनको पूर्णपाठ

प्रतिनिधिसभा र प्रदेश सभाको आज भएको निर्वाचन छिटपुट घटना बाहेक आम रुपमा शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत सबै वर्ग, समुदाय, लिंग र अवस्थाका मतदाताको उत्साहबद्र्धक सहभागिता भएको देखियो । विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइयो ।

पर्यवेक्षणको क्रममा मतदान केन्द्रहरुको अवलोकन गर्दा मतदान सुरु भएपछि प्रारम्भिक चरणमा मतदाताहरुको पातलो उपस्थिति देखिएकोले पछिल्लो समयमा मतदाताहरुको चाप बढ्ने अपेक्षा गरिएको भए पनि मतदानको कूल अनुपात विगतको भन्दा उत्साहजनक हुनसक्नेमा विश्वास गर्नसक्ने अवस्था देखिएन । यो परिस्थिति विचारणी देखिन आएको छ । एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना भएको पाइएन भने मतदान केन्द्रमा दलहरुबीच विवाद पनि देखिएन ।

निर्वाचनको काममा खटिएका कर्मचारीहरु र दलका प्रतिनिधिहरु बीच सौहाद्रपूर्ण व्यवहार भएको पाइयो । यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ संकेतको रुपमा लिन सकिन्छ । २०४८ सालदेखि नियमित रुपमा संसदीय निर्वाचन, स्थानीय निकायको निर्वाचन, संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) को अनुभवको आधारमा देशमा भइरहेको आवधिक निर्वाचन भरपर्दो एवं स्वीकार्य हुँदै गएको पाइएको र सो लोकतन्त्रलाई संस्थागत र जनसहभागितामूलक बनाउनमा सकारात्मक हुँदै गएको अनुभव भएको छ ।

३६ वटा जिल्लाको २५० पालिकामा राष्ट्रिय स्तरका ३०, जिल्लास्तरका ३६ र स्थानीय तहका २८४ सहित पूर्व प्रधान न्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवहरुसहितको १० विशेष पर्यवेक्षक गरी जम्मा ३५० जनाको टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका अनुसार अधिकांश मतदान केन्द्रहरु विहान ७ बजे नै सञ्चालनमा आएका थिए भने केहीमा ७.१५ देखि ७.४५ भित्र मतदान सुरु भएको थियो । कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरु तोकिएको समयमा नपुगेको केही स्थानमा सामान्य विवादसमेत भएको थियो ।

मतदाताको दृष्टिले हेर्दा सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिन्हको बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सूसुचित र विवेकपूर्ण मत संकेत गर्न व्यवधान रहेको पाइयो । उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिन्हको बारेमा निश्चित ढंगले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेकोले मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धती व्यापक र प्रभावकारी हुनु पर्ने आवश्यकता गम्भिर रुपमा खट्किएको पाइयो ।

मतपत्रमा उम्मेदवार भएको चिन्ह मात्रै समावेश भएको हुँदा यस पटक पहिलेभन्दा बदर मतपत्रको प्रतिशत कम हुन सक्ने अनुमान गर्न सकिन्छ । टाढाबाट आउनु पर्ने अवस्थाका मतदाताले सवारी साधनको उपलब्धताको अभावका कारणले मतदानबाट बञ्चित भएको पाइयो । कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटोसमेतका पूर्वाधार अभाव रहेको पाइयो । काठमाडौको कलंकी लगायत कतिपय स्थानमा हालसम्म पनि अपाङ्गतामैत्री मतदान केन्द्रको व्यवस्था नभएको, मन्दिरमा मतदान केन्द्र रहेको, मतदाताले स्वीच अफ गरेर समेत मोबाइल लान नदिएको र सूचना समेत नपाइएकोमा असन्तुष्टि समेत रहेको देखिएकोमा पर्यवेक्षकहरुले आग्रह गरेपछि सूचना टाँसिएको थियो । त्रिज्योती मा.वि. कपन, काठमाण्डौ र नवलपरासीको कावासोती लगायत केही क्षेत्रहरुमा पयवेक्षकहरुलाई समेत प्रवेश गर्न अवरोध गरिएको थियो भने टाढाबाट पनि फोटो खिच्न अनुमति दिएको थिएन ।

केन्द्रसम्म मतदान गर्न आएकाहरु पनि विविध कारणले गर्दा (जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिंडरै जान सम्भव नभएको र मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको) मतै नखसाली फर्कनु परेको पनि अवस्था पाइयो । परिचयपत्र र मतदाता सूचीको बीच किंचित पनि विरोधाभाष रहन दिन नमिल्नेमा ध्यान दिनुपर्ने देखियो । परिचयपत्र सम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटिरहित, विश्वसनीय र उपयोगी बनाउनु पर्ने देखियो । यस पटक पर्यवेक्षकहरुलाई परिचयपत्रको आधारमा नै यातायातको व्यवस्था गरी सहज अवस्था आयोगले गरेको हुँदा पर्यवेक्षण गर्न सहज भएको छ ।

निर्वाचन आचार–संहिताको सामान्य रुपमा पालना गर्ने नै प्रबृति देखिएकोले सन्तोषजनक नै रहेको पाइयो । केही स्थानमा आचार–संहिता उलंघनका संकेतहरु देखिएकोले तत्काल प्रभावकारी कारवाहीको आवश्यकता महसुस भयो । निर्वाचन प्रक्रिया र व्यवस्थापन विगतभन्दा सुधार गरिएको, सहज, सुविधायुक्त, शान्तिमय र स्वीकारयोग्य हुँदै गएकाले लोकतन्त्रलाई परिपक्व र सुदृढ बनाउनमा यसले महत्वपूर्ण योगदान दिन सक्ने निश्कर्ष जियोकको छ । अस्थायी मतदान केन्द्रहरुबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा कैदी बन्दीहरुलाई समेत समानुपातिक निर्वाचन प्रणाली तर्फ मतदान गर्ने अवसर प्रदान गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, दलका प्रतिनिधि र मतदातासहित जियोकका राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका ३५० पर्यवेक्षकहरुले पर्यवेक्षण गरी दिएको योगदानको लागि आभार व्यक्त गर्दछौं ।

कृष्णमान प्रधान
महासचिव
जियोक