• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड ★   गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित ★   चुरे संरक्षणको माग गर्दै पदयात्रा, माईतीघर मण्डलामा धर्ना– तस्बिरहरु ★   बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री ★   सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन: नेता निधी

नमूना माझी बस्तीका घर प्रयोगविहीन



मेलम्ची । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् ।

भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताउनुभयो । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याउनुभएको छ । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याउनुभएको छ । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताउनुभयो ।

तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताउनुभयो । उहाँका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताउनुभयो । उहाँका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई रु दुईदेखि १० लाखसम्म ऋण लागेको उहाँले बताउनुभयो ।

दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ । रासस