१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसामु जितका लागि १७७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिवि कीर्तिपुर खेल मैदानमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा ओर्लिएको युएईले भर्खरै सम्पन्न पहिलो इनिङमा निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा १७६ रन बनाएको छ । युएईका लागि आयान अफजल खानले ६३ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ५४ रन बनाए ।

कुनै बेला ३१.१ ओभरमा ९३ रनमा ९ विकेट गुमाइसकेको युएईले पूरा खेल खेल्दै सम्मानजनक रन बनायो । आयान अफजल खानलाई पुछारमा आएका हजरत बिलालले राम्रो साथ दिएका थिए । हजरतले ५४ बलमा एक छक्काको सहयोगमा २० रन बनाए ।

युएईका लागि सुरुआत राम्रो हुन सकेन । उसले ३.१ ओभरमा १६ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनर ब्याटरहरु मुहम्मद वासिम ११ र वृत्य अरविन्द शून्य रनमा पभेलियन फर्केका थिए । ४ विकेटको क्षतिमा ७९ रन बनाएको युएईले ९३ रन पुग्दा ९ विकेट गुमाइसकेको थियो ।

तर खान र बिलाले अन्तिम विकेटको साझेदारीमार्फत टिमको स्कोरलाई माथि पुर्याए । खान र बिलालले टिमलाई सम्मानजनक स्कोरमा पुर्याउन ८३ रनको साझेदारी गरे । युएईका अन्य ब्याटरमा कप्तान चुन्दाङ्गापोइलले ४, रोहन मुस्तफा २४ र आलिशान सराफूले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २/२ विकेट लिए । झाले ७ ओभरमा ४२, ऐरीले १० ओभरमा २२ र भुर्तेलले ७ ओभरमा ३२ रन खर्चिएका थिए । अन्य बलरमा सोमपाल कामी, ललित राजवंशीले समान १/१ विकेट लिए । युएईका जुहुर खान रनआउट भएका थिए ।

आजको खेलमा नेपालले अतिरिक्त २० रन दिएको थियो जसमा वाइडमात्र १७ थियो । केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ । तीन एक दिवसीय खेलमा नेपाल र युएईले एक/एक खेल जितिसकेका छन् ।