• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी



मनाङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् ।

तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् ।

मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्”, उहाँले भन्नुभयो ।

कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेँसी जाने समयमा निर्वाचन भएपछि जिल्ला आउने क्रममा रहेका हुन् । हिउँ पर्ने समय भएको छ । खानेपानी नै जम्ने अवस्थामा छ । तर निर्वाचनले जिल्लावासीलाई यहाँ आउन बाध्य बनाएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताउनुभयो । “प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । मङ्सिर १ गतेभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौँ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र नेकपा ९एमाले० का पाल्तेन छोपाङ गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजङ्ग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि नै प्रदेश ‘ख’ मा राजीव गुरुङ सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ । निर्वाचनमा जित हासिल गर्नका लागि घरदैलोमा पुगेर उम्मेदवार मतदातालाई रिझाउन व्यस्त छन् ।

मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी छ हजार सात सय ७९ मतदाता छन् । नासोँ गाउँपालिकामा एक हजार आठ सय ४७, चामेमा सात सय ७७, मनाङ ङिस्याङमा तीन हजार छ सय ८७ र नार्पाभूमिमा चार सय ६८ मतदाता छन् । जिल्लामा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतादन केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।