२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्षको ध्यान शक्ति केन्द्र रिझाउने मात्र



अ+ अ-

नेपाली फुटबलको विवाद अहिले चरम अवस्थामा पुगेको छ । कर्मा छिरिङ शेर्पाको नेतृत्व कालको तीन वर्ष सर्वाधिक विवादित समय बनेको छ । अध्यक्ष निर्वाचित भए पछि नै विधानमा मानार्थ अध्यक्षको पद सृजना गर्दै टासी घलेलाई यसमा मनोनयन गराएका थिए । केही समय पछि घलेले पद त्यागे । तीनै घले पछिल्लो समय एन्फामा फेरी भित्रिए । एउटै व्यक्ति मनोनयन, राजीनामा र फेरी आगमन यसले धेरैलाई आश्चर्यमा पारेको छ । 

कुनै समय उनका आलोचक मानिएका रमेश रायमाझी सङ्घमा मनोनीत भए । एन्फा निकट श्रोत भन्छ, कर्माको कार्यकाल कुनै सृजनात्मक काम गर्ने भन्दा बढी शक्ति केन्द्र रिझाउन मै केन्द्रित  बन्यो । नेपाली काँग्रेसका कायकर्ता रिझाउनका लागि उनले रमेशलाई कार्य समितिमा भित्र्याएका थिए । यसै गरी, व्यापारिक पृष्ठभूमिका टासी घलेलाई पनि शक्ति केन्द्रकै इसारामा सङ्घमा फेरी भित्र्याएको एन्फा निकट श्रोत बताउँछ । 

यो क्रम त्यत्तिमा पनि रोकिएको थिएन, भक्तपुर जिल्ला सङ्घमा पनि त्यहाँका स्थानीय राजनीतिक कार्यकर्ता खुसी बनाउनका लागि कर्माले हस्तक्षेप गरेका थिए । ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाले फेसबुकको ग्रुप म्यासेजका अध्यक्षको कार्यकाल र कार्यशैलीमा असन्तोष जनाएका कारण कारबाहीको प्रक्रिया अघि बढाएको थियो । 

एन्फा निकट श्रोतका अनुसार नेपाली राष्ट्रिय टोलीका कुनै समयका स्टार विमल घर्तीको ओरालो लाग्दो जीवनको मुख्य कारण नै कर्मा छिरिङको नेतृत्व रहेको जनाइन्छ । घर्ती मदिरा सेवनका कारण अनुशासनको कारबाहीमा परेका थिए । जुन कारबाहीले उनले साग खेल र लिग गुमाए । उनले महत्त्वपूर्ण प्रतियोगिता गुमाए पछि कहिल्यै फर्कन सकेनन् । तर, एन्फा निकट श्रोतका अनुसार विमल अनुशासनहीनको त्यो उचाइमा पुग्नु अगावै सुधार्नका लागि कारबाहीको माग गरिएको थियो । 

धेरै पहिले देखि विमलको गतिविधि खराब थियो । उनलाई समयमै कारबाहीको दायरामा ल्याए सुध्रने र फेरी खेलमा  फर्कने मत धेरैको थियो । यसका बाबजुद कर्माले तत्कालका लागि विमलको लोकप्रियता मात्र हेरे । यसको एक वर्षको अन्तरालमा विमल सम्हाली नै नसक्ने अवस्थामा पुगेका थिए । धेरैको निष्कर्ष छ, एक वर्ष अघि उनलाई खराब बाटोबाट रोक्नका लागि  उठाइएको आवाज सुनिएको भए एउटा स्टार खेलाडीको अहिलेको खराब लय देखिँदैन थियो । 

एन्फा अध्यक्ष कर्मा छिरिङ एक वर्ष अघि जातीय फड्काऊ गर्ने आशयको अभिव्यक्तिको कारण पनि चर्चामा रहे । मधेसीहरू राष्ट्रियताको सवालमा कमजोर हुने आशयको अभिव्यक्ति सार्वजनिक गरे पछि उनी विवादमा परेका थिए  । कास्की फुटबलमा भक्तपुर र ललितपुरको झैँ नै विवाद भएको थियो । यस विवादमा जोडिएका थिए , हालका प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ । तीनै राजीव गुरुङ मन्त्री बने पछि शेर्पाले उनीसँग सम्बन्ध सुधार गर्न विशेष महल नै गरेका थिए । यत्ति मात्र होइन,  नेपालले खेलेको विश्वकप र एसिया कप छनोटको खेलमा अनावश्यक रूपमा राखेप सदस्य सचिव रमेश सिलवाललाई पनि उनले लिएर गएका थिए । 

फुटबल सङ्घ अर्को विवादमा पनि तानिएको छ । गत वैशाखमा काठमाडौँमा भएको फ्रेन्चाइज फुटबलमा राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनलाई टिमका लागि सिफारिस गरियो । कत्तिसम्म भने त्यो एनएसएलको दौरान राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्रका प्रवेश कटुवाललाई पूर्ण रूपमा बे वास्ता गरियो । नाम बताउने सर्तमा एक प्रशिक्षक भन्छन्, “ नेपालमा अब फुटबल प्रशिक्षणका लागि कुनै जिम्मेवारी पाउन बाल गोपाल महर्जन, हरि खड्का र उपेन्द्र मान सिहको निगाहा नै पाउनु पर्छ । ”

यस पछि प्रशिक्षक अल्मुताइरीको प्रकरण सुरु भएको थियो । अल्मुताइरीले कुवेतमा हाल गएको टोली भन्दा पहिलाका सबै टोलीका खेलाडी घुम्नका लागि जाने गरेको अभिव्यक्ति पछि उनलाई कारबाही गर्न दबाब परेको थियो । यत्ति मात्र होइन, एन्फा अध्यक्ष कर्मा छिरिङको नेतृत्वमा रहे मात्र आफू नेपाली टोली हेर्ने आशयका अभिव्यक्ति पनि दिए । अहिले अल्मुताइरीले माफी मागेका छन् ।  एन्फाका उप महासचिव वसन्त अर्याल र प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । भित्री कारण कारण खुलेको छैन । 

यो काण्डै काण्डको समयमा एन्फाको पुरानो सामाजिक प्रभाव भने घटेको छ । नेपालको घरेलु लिगको पुरस्कार राशि बढ्न सकेको छैन । सबैभन्दा अचम्म त सङ्घमा कुनै राजनीतिक कार्यकर्ताको सिफारिसमा व्यक्ति नियुक्ति हुनुले फुटबल सङ्घको साख गिरेको छ । कुनै समय तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका नजिकका पात्र तथा हाल रमेश सिलवालसँग निकट सम्बन्ध रहेका मानवीर हजारा लगायतको उपस्थितिलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । 

यस बिचमा कर्मचारीको भन्दा पदाधिकारीको तलब वृद्धि एन्फा भित्रको अर्को विवादास्पद विषय बनेको छ । यो काण्डै काण्डको बिचमा कर्मा छिरिङ फेरी शक्ति केन्द्र व्यवस्थापनमा तल्लीन छन् ।  गण्डकीका मन्त्रीसँगको भेटघाट र राखेप सदस्य सचिव सिलवाललाई विदेश सयर गराउने उनको रणनीतिक अन्तरगतकै काम थियो ।