• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा

पर्वतमा जोशी र गिरीबीच पुनः चुनावी प्रतिस्पर्धा



कुश्मा । पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनःचुनावी मैदानमा उत्रिएका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा (एमाले)का पद्म गिरीबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीसित जीतको साख जोगाउनुपर्ने चुनौती छ ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्तिका बलबहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । विसं २०५६, २०६४ र २०७० मा लगातार चुनाव जित्नुभएका कांग्रेस उम्मेदवार जोशीलाई २०७४ सालको निर्वाचनमा एमालेका गिरीले लगभग १३ हजार मतान्तरले पराजित गर्नुभएको थियो । त्यतिबेला नेकपा माओवादीसहितको बाम गठबन्धन थियो । गिरीले ३९ हजार दुई सय ७५ मत प्राप्त गरेकामा पराजित जोशीले २६ हजार आठ सय १९ मत पाउनुभएको थियो । कूल ६७ हजार छ सय ८२ मत खसेको थियो ।

“बाम गठबन्धनसँग एक्लै चुनावमा भिड्दा ठूलो मतान्तरले हारेको थिएँ”, कांग्रेस उम्मेदवार जोशीले भन्नुभयो, “अहिले त्यही बाम गठबन्धनसहितका दल हामीसँग छन्, यो मेरो जीतको पहिलो आधार हो । प्रतिस्पर्धीभन्दा बढी मत ल्याएर चुनाव जित्छु ।” एमाले उम्मेदवार गिरी पनि चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । “हाम्रा विकासका काम यहाँका मतदाताले हेरेका छन्”, उहाँले भन्नुभयो, “मेरो प्रतिस्पर्धीलाई फराकिलो मतले हराउँछु ।”

पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । स्थानीय चुनावको नतिजालाई पछ्याउँदा पाँच पालिकामा कांग्रेसले नेतृत्व गरेको छ । कांग्रेसले कुश्मा र फलेबास नगरपालिका तथा जलजला, बिहादी र पैयुँ गाउँपालिकामा जितेको थियो । कांग्रेसले जितेका पालिका प्रमुख र पराजित दुई पालिका मोदी र महाशिला गाउँपालिकाको मत सङ्ख्या जोड्दा गठबन्धन दलले पाएको जम्मा मत ३७ हजार चार सय ८५ छ ।

एमालेले दुई गाउँपालिका मोदी र महाशिला जितेको थियो । उसले पाएको जम्मा मत ३४ हजार छ सय ६२ छ । यस्तै राप्रपासहित अन्य उम्मेदवारले पनि एक हजार चार सय ५९ मत प्राप्त गरेका थिए । वडा तहमा भने एमालेले ६१ वडामध्ये ३३ मा जितेको थियो भने कांग्रेसले २४ वडामा जितेको थियो । यसैगरी माओवादी केन्द्रले तीन वडामा जितेको थियो भने एउटामा स्वतन्त्रले जितेको थियो ।

गठबन्धन दलले अपिल–पत्र निकालेको छ । त्यसमा आगामी दुई वर्षभित्रमा भूमिहिनताको अन्त्यदेखि हरेक स्थानीय तहमा एउटा बारुण यन्त्र र एउटा एम्बुलेन्सलाई अनिवार्य गरिने उल्लेख छ । प्रत्येक वडामा विपद्का बेला सुरक्षित रहन सकिने सेन्टर र सार्वजनिक भवन, एउटा हेलिप्याडसमेत निर्माण गरिने उल्लेख छ । प्रत्येक नगरपालिकामा २५ देखि ५० श्यया तथा प्रत्येक गाउँपालिकामा १५ देखि २५ श्ययाको अस्पताल निर्माणका कुरा समेटिएका छन् ।

“म सांसद हुँदा धेरै गाउँमा बिजुली थिएनन्, सडकको ट्र्याक खोलिएका थिएनन् पछि २०७० सालसम्म सबै ठाउँमा बिजुलीको पहुँच बढाउने काम भयो”, उम्मेदवार जोशीले भन्नुभयो, “खानेपानी सापटी मागेर खानुपर्ने अवस्था पनि थियो, अहिले पर्वतका घरघरमा धारा पुगेको छ । पहिले मेरो प्राथमिकता गाउँका विकास मात्र थियो, अब भने रोजगारमा ध्यान दिनेछु ।”

एमालेले घोषणापत्र सार्वजनिक गरिनसकेको भए पनि शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार निर्माणका कामले प्राथमिकता पाउने उम्मेदवार गिरीको भनाइ छ । “हामीले तीन वर्ष सरकार सञ्चालन गर्दा गाउँगाउँमा मोटरबाटो पु¥यायौँ, अब किसानको उत्पादनलाई बजारसम्म जोड्ने कामको सुरुआत गर्नेछौँ”, उहाँले भन्नुभयो, “पर्यटनलाई बढवा दिन पोखरादेखि पर्वतसम्म सुरुङमार्ग निर्माण गर्नेदेखि हजारौँ युवालाई रोजगार उपलब्ध गराउन कालीगण्डकी बहुउद्देश्य परियोजना सफल बनाउन लाग्नेछौँ ।”

पर्वतमा एक लाख २२ हजार छ सय ४९ मतदाता छन् । अठार वर्ष पुगेर पहिलो पटक मताधिकार पाएका युवामा भने उत्सुकता देखिन्छ । उनीहरु पार्टीलाईभन्दा पनि राम्रो उम्मेदवारलाई भोट हाल्ने सोचमा छन् । “यो त्यो पार्टी जान्दिन, राम्रो उम्मेदवारलाई मतदान गर्नुपर्ला भन्ने छ ।”, कुश्मामा जापानी भाषा सिक्दै गरेका १९ वर्षीय दिपेश ठकुरीले भन्नुभयो ।

प्रदेशसभातर्फ ‘क’मा गठबन्धनबाट माओवादी केन्द्रका सुदीप कुँवर तथा एमालेबाट भक्त कुँवर उम्मेदवार हुनुहुन्छ । गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनको परिणामअनुसार गठबन्धनका उम्मेदवारले एमालेकोभन्दा ९३२ मत बढी ल्याएका थिए । प्रदेशसभा ‘ख’मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी उम्मेदवार बन्नुभएको छ । कांग्रेस पार्टी कार्यालयका पूर्वमुख्य सचिव रहिसक्नुभएका तिवारी यसअघि मनोनित सांसद हुनुहुन्थ्यो । एमालेले भने मित्रलाल बस्याललाई अघि सारेको छ । विसं २०७४ को स्थानीय निर्वाचनमा एमालेकोतर्फबाट पैयुँ गाउँपालिकाको अध्यक्षमा पराजित बस्याल एमाले गण्डकी प्रदेशको सचिवालय सदस्य हुनुहुन्छ ।

चार पालिकामा पालिका प्रमुखले पाएको मतअनुसार एमालेको भन्दा गठबन्धनको पक्षमा एक हजार आठ सय ९१ मत बढी देखिन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र तिनको उम्मेदवारका विषयमा आचारसंहिता उल्लङ्घनको कुनै पनि उजुरी परेको छैन । कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल र फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले निर्वाचन आचारसंहिताविपरीत कार्य देखिएकाले स्पष्टीकरण सोधेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । एक सय ४८ मतदान केन्द्रमा एक हजार सात सय ७६ कर्मचारी खटिने उहाँले बताउनुभयो ।

सुमनजङ्ग थापा / रासस