काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । एक महिनापछि उनी मुलुकको ४४ औँ प्रधानसेनापति बन्दै हुनुहुन्छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ । उहाँले अनिवार्य अवकाश पाएसँगै हिजो (आइतबार)देखि घर बिदामा बस्नुभएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले साउन १२ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो ।
उहाँले आगामी भदौ २४ गते नेपालको ४४ प्रधानसेनापतिको फुलि लगाउनुहुनेछ । त्यसअघि एक महिनासम्म उहाँले कायम मुकायम प्रधानसेनापतिको रुपमा काम गर्नुहुनेछ ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएको छ भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरिसक्नुभएको छ ।
शर्मा प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति समेत हुनुहुन्छ ।