२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ

बालबालिको खेल मैदान पर्यटकीय गन्तव्यस्थलमा परिणत

बालबालिको खेल मैदान पर्यटकीय गन्तव्यस्थलमा परिणत
अ अ+ अ-

रामपुर (पाल्पा) ।  कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । 

चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने यो त्यही स्थान हो, होइन चिन्दैन । दृश्य फरक छ, आकर्षक बनेको छ । कतिले यसो पोखरी हरेपछि भन्ने गर्छन् ‘ओहो, यो त फेवाताल जस्तै भएछ त !’

बाल्यावस्थामा ठूलो क्षेत्रफल ओगटेको फराकिलो पोखरीमा साथीहरु मिलेर खेल खेल्ने, रमाउने गरेको ठाउँलाई अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यस क्षेत्रमा  व्यवसाय स्थापना गर्ने समेत बढेका छन् । यहाँसम्म आउने जाने पक्की सडक सुविधा पुगेको तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव जनक भण्डारी बताउनुहुन्छ । 

पोखराको फेवातालको अनुभूति दिने गरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँटा थपिदिएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा पनि सूचिकृत पर्यटकीय तालपोखरामा हालसालै विभिन्न स्तरोन्नतिका कार्य सम्पन्न भएपछि यसको सुन्दरताले पर्यटक लोभ्याउन थालेको छ । 

गत आर्थिक वर्षमा पर्यटन विभागबाट तालपोखराको स्तरोन्नतिका लागि विनियोजित रु ५० लाखमध्ये रु ४७ लाख २३ हजार प्राप्त भएको थियो । सो रकमबाट तालको पानीलाई दीगो व्यवस्थापन गर्न करिब चार महिना पानी सुकाएर तालपोखरा परिसरमा ८० मिटर लम्बाइ र ३.७० मिटर उचाइ ढुङ्गाको पर्खाल तथा ३०० मिटर लम्बाइ, तीन मिटर उचाइको रडको जालीसहित भित्ता ढलानको काम भएको छ ।

साथै तालका बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा सेल्फी जोन निर्माण, तालको सतह सम्याउनेलगायतका काम सम्पन्न गरी पानी सञ्चालन गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।

पर्यटन विभागबाट प्राप्त रकममध्ये रु ४० लाख ४५ हजार खर्च भएको छ भने रु छ लाख ७७ हजार ७५३ रकम बचत गर्न सफल भएको अध्यक्ष देवकाटा बताउनुहुन्छ । “पक्की पर्खाल नहुँदा कहिलेकाहीँ भत्कँने समस्या थियो, भित्ता सबै पक्की बनाएपछि अब पानी अडिनेछ, कोरोनाको कहरका बाबजुद पनि काम सम्पन्न गरी तालमा पानी सञ्चालन गरियो, सहज परिस्थिति भएपछि डुङ्गा चलाउने योजनामा छौँ”, अध्यक्ष देवकोटाले भन्नुभयो ।

श्रीमद्भागवत ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनका पूर्वाधार निर्माणका साथै अन्य कार्यक्रम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । फेवातालको झल्को दिनेगरी चारैतिर ताल र बीचमा मन्दिर निर्माण गरिएको छ । तालपोखरा अवलोकन गर्न आउने आन्तरिक पर्यटक बढ्दैछन् । 

हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाखभन्दा बढी रकम खर्च भइसकेको छ भने यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले डुङ्गा लगायतका विभिन्न जलमार्ग सामग्री खरिद गर्न रु १० लाख रकम विनियोजन गरेको छ ।

पर्यटकको उपस्थिति बढ्दै गएपछि विसं २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्गा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुँदै आएकामा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएको छ । 

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुरमा अवस्थित तालपोखरा पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बनेको छ । पर्यटकको आकर्षण बढ्दै गएकाले समितिले विभिन्न निकायबाट बजेट माग गरेर पूर्वाधार विकासको काम गर्दै आइरहेको छ । करिब ४५ रोपनी क्षेत्रफलमा ताल र तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिच्ने स्थान र एकातर्फ सेल्फी जोनको व्यवस्था पनि छ । 

तालपोखराका नाममा पोखरीसहित पार्कसमेत रहेको छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोजसमेत हुने गरेको छ । ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ ।

सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालका रुपमा परिणत गरिएको हो । यहाँ पोखरीलाई व्यवस्थापन गरी डुङ्गा सञ्चालन गर्न थालेपछि दैनिक ३०० को हाराहारीमा आन्तरिक पर्यटक डुङ्गा सयर गर्ने गरेको समितिले जनाएको छ । 

डुङ्गा सञ्चालन भएपछि ताल अवलोकन निम्ति यहाँ देशका पूर्वदेखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ । समितिले थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको छ ।

तालपोखरालाई पाल्पा जिल्लाको मात्र नभई नेपालकै पर्यटकीयस्थलका रुपमा अगाडि बढाउने, यसले ओगटेको सबै जमिनलाई पर्यटकीय आकर्षणस्थल बनाउने परिकल्पना गरिएको समितिका पूर्वअध्यक्ष देवराज देवकोटा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तालपोखरा पार्क नजिकै बालउद्यान, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनिपार्क स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पीपल चौतारीलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्ने, सोही ठाउँ नजिकै बालोद्यान निर्माण गर्ने योजना छ । यो योजना अबको चार÷पाँच वर्षभित्र पूरा हुनेछ ।” कोभिड– १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै तालमा डुङ्गा बन्द गरिए पनि ताल वरपर घुम्न आउने पर्यटक अहिले पनि बाक्लै भेटिन्छन् । (रासस, सुशीला रेग्मी)