काठमाडाैँ । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवाको प्रभावकारिता बढाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उहाँले हाल आवश्यक जनशक्ति, बजेट र प्रविधि बिना नै सेवालाई सुधार गर्ने प्रयास भईरहेको बताउनुभएको हो । उहाँले डाँक ढुवानीका लागि बजेट अभाव रहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशमा डाँक ढुवानीको बजेट ६० प्रतिशतले घटेर आएको जानकारी दिनुभयो ।
यातायात व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हाल कर्णालीमा डाँक ढुवानी व्यवस्थापन भईरहेको उहाँको भनाई छ । हुलाक सेवाका सवारीसाधन र मोटरसाइकललाई पनि डाँक ढुवानी तथा कार्यालयको काममा प्रयोग गर्ने गरिएको उहाँको भनाई छ । निर्देशनालयमा रहेका सवारीसाधनबाट हुलाक सामग्री ढुवानी गर्ने र कार्यालयका मोटरसाइकल डाँक सेवामा प्रयोग गर्ने गरिएको उहाँले बताउनु भयो । उहाँले विभागमा सूचना प्रविधिसम्बन्धी छुट्टै शाखा स्थापना गर्नुपर्ने आवश्यकता समेत औल्याउनु भयो ।
हुलाक सेवाको बदलिँदो आवश्यकताअनुसार छुट्टै शाखा आवश्यक देखिएको उहाँको भनाई छ । वैदेशिक हुलाक सेवासँग जोडिएर काम गर्दा विभिन्न सफ्टवेयर सञ्चालन, अन्तर्राष्ट्रिय प्रणालीमा हुने परिवर्तन र डाँक मार्गसम्बन्धी समन्वय आवश्यक पर्ने उहाँले बताउनु भयो । विश्व हुलाक संघ र एशिया–प्रशान्त हुलाक संघका प्रणालीमा हुने परिवर्तनसँगै नेपालको हुलाक सेवाले पनि आफ्नो प्रणाली अद्यावधिक गर्नुपर्ने उहाँको भनाई छ । प्रविधिसम्बन्धी तालिममा लगानी गर्न पनि आवश्यक रहेको उहाँले बताउनुभयो । केही तालिम आन्तरिक स्रोतबाट सञ्चालन गर्न सकिएपनि विशेष सीप आवश्यक पर्ने तालिमका लागि दक्ष प्रशिक्षक जुटाउन र समयमै तालिम सञ्चालन गर्न कठिनाइ हुने गरेको उहाँको भनाई छ । उहाँले स्थानीय तहको सहयोगमा स्थानियस्तरमा रहेका कार्यलयहरुमा कम्प्युटरलगायतका उपकरण जुटाउन थालिएको बताउनु भयो ।
उहाँले विगतमा विमानस्थल, एक्सप्रेस वे र कार्यालय सञ्चालनसम्बन्धी समस्या रहेपनि त्यसलाई समाधान गर्दै लगिएको जानकारी दिनुभयो । सीमित स्रोतसाधनका बीच पनि हुलाक सेवामा सुधारका प्रयास जारी रहेको उहाँको भनाई छ ।








