काठमाडाैँ । काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तिब्र पारेको छ ।
दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक चिह्न निर्माणको काम रातिको समयमा भइरहेको हो । सडक डिभिजन काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारकाअनुसार सडक डिभिजन काठमाडौंअन्तर्गतका सडकमा राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म रोड मार्किङको काम भइरहेको छ । कामका लागि राति ८ बजेदेखि नै आवश्यक तयारी शुरु गरिने गरिएको छ र हाल सिंहदरबार आसपासका क्षेत्रमा सडक चिह्न निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार कालिमाटी क्षेत्रमा पनि जेब्रा क्रसिङ बनाउने काम जारी छ । साथै, करिब ६ किलोमिटर सडकमा एज लाइन बनाउने काम पनि हाल सम्पन्न भइसकेको छ ।
सडकको प्रकृति र सुरक्षालाई ध्यानमा राख्दै एज लाइनमा पहेँलो रङ तथा सेन्टर लाइन र जेब्रा क्रसिङमा सेतो रङको थर्मोप्लास्टिक पेन्ट प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । स्पष्ट सडक चिह्नले चालकलाई लेन पहिचान गर्न तथा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुग्ने रौनियारले बताउनुभयो । उहाँकाअनुसार सडक डिभिजन काठमाडौंले मुख्य सडकमा दशैँअघि नै रोड मार्किङको काम सक्ने र त्यसपछि अन्य सडकमा समेत कामलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।
रौनियारले भन्नुभयो,‘अहिले हामी सडक डिभिजन काठमाडौं अन्तर्गतका सडकहरूमा थर्मोप्लास्टिक पेन्टिङको काम गरिरहेका छौँ । अहिले रातिको करिब १० बज्न लागेको छ । हामी फिल्डमै रहेर सडक पेन्टिङको काम गरिरहेका छौँ । काठमाडौंका सडकहरू दिउँसो निकै व्यस्त हुने भएकाले सडक सुरक्षा तथा सडक चिह्न (रोड मार्किङ) सम्बन्धी कामहरू हामी रातिको समयमा गर्ने गरेका छौँ । हामी करिब राति ८ बजेदेखि नै तयारीमा जुट्छौँ र ९ बजेदेखि काम सुरु हुन्छ । बिहान ५–६ बजेसम्म काम गरिरहेका हुन्छौँ । अहिले हामीले विभिन्न ठाउँमा जेब्रा क्रसिङको काम गरेका छौँ । साथै, करिब ६ किलोमिटर सडकमा एज लाइन बनाउने काम पनि गरेका छौँ । सडक सुरक्षालाई मध्यनजर गर्दै हामीले थर्मोप्लास्टिक पेन्ट प्रयोग गरेर रोड मार्किङ गरिरहेका छौँ । एज लाइनमा पहेँलो रङ र सेन्टर लाइनमा सेतो रङ लगाउने गरेका छौँ । जेब्रा क्रसिङमा पनि सेतो रङ नै प्रयोग गरिन्छ । अहिले हामी सिंहदरबारवरपरको क्षेत्रमा काम गरिरहेका छौँ । कालिमाटीतिर पनि काम भइरहेको छ, जहाँ जेब्रा क्रसिङ बनाउने काम भइरहेको छ । काठमाडौं सहरका मुख्य–मुख्य सडकहरूमा दशैँअघि नै रोड मार्किङको काम सम्पन्न गर्ने योजना बनाएका छौँ । दशैँ र तिहारको बीचमा पनि अन्य सडकहरूमा रोड मार्किङको काम गरेर सडक सुरक्षालाई सुनिश्चित गर्नेछौँ ।’
काठमाडौंका सडकमा ट्राफिक संकेत, सडक मार्किङ तथा अन्य सडक सुरक्षा पूर्वाधार निर्माणका लागि सडक डिभिजन काठमाडौंले के.ए.एम.÷रुवी÷अयान जेभीसँग ठेक्का सम्झौता गरिसकिएको छ । सम्झौताअनुसार उक्त आयोजनाका लागि भ्याटसहित ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँको बोलपत्र स्वीकृत भएको छ ।
सम्झौताअनुसार २०८३ असार २६ गतेदेखि शुरु भएको आयोजनाको काम २०८३ चैत २५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । सडकमा आवश्यक ट्राफिक संकेत, लेन चिह्न, जेब्रा क्रसिङ तथा अन्य सडक सुरक्षा संरचना निर्माण भएपछि सवारीसाधन र पैदलयात्रीको आवागमन थप व्यवस्थित हुने रौनियारले बताउनु भयो । –








