९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार के र कसको पर्व ?



अ+ अ-

सोह्र श्राद्धमा पितृहरुलाई, विजयादशमीमा दुर्गालाई पुजिसकेपछि प्रकृति र पशुपंक्षीसँग मित्रता गर्ने पर्वका रुपमा तिहारलाई लिइन्छ ।

मगरभाषामा ‘ति’को अर्थ नुन मिसाएको पिठोलाई बुझाउँछ भने ‘हार’को अर्थ गाई हुन्छ अर्थात् गाईलाई प्रसन्न तुल्याउने वा खुवाउने पर्वको नाम नै तिहार हो । यमराजले कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्म बहिनी यमुनाकहाँ पाँच दिन बसेको हुनाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

यो पर्वमा धुमधाम रुपले दियो बालेर उज्यालो बनाई मनाउने हुनाले शुभदीपावलि भनिन्छ । तिहार, यमपञ्चक, शुभदीपावलि गरी तीन नामबाट यस पर्वलाई जनमासले बुझ्ने गरेका छन् । साधना र ब्रéचिन्तनका लागि पौरस्त्य परम्परामा मोहरात्रि, कालरात्रि, सुखरात्रि, शिवरात्रिको विशेष महत्व छ ।

(क) मोहरात्रि– कृष्णको जन्म (भाद्रकृष्ण अष्टमी)लाई मोहरात्रि भनिन्छ । जुन रात्रिमा साधना गर्नाले मोहको नष्ट र अज्ञानको नाश गर्छ त्यसलाई मोहरात्रि भनिन्छ ।

(ख) कालरात्रि– आश्विनशुक्ल अष्टमीलाई कालरात्रि भनिन्छ । जुन रात्रिमा साधनाबाट प्राप्त ज्ञानले अज्ञानको नाश गरी परमात्मा प्राप्त गर्न सकिन्छ, त्यसलाई कालरात्रि भनिन्छ ।

(ग)सुखरात्रि– कार्तिक औँसीलाई सुखरात्रि भनिन्छ । यस दिन लक्ष्मीको पूजाअनुष्ठानका साथ रात्रिको समयमा कोठा, घर, दोबाटो, भण्डार चारैतिर बत्ती बालिन्छ । दिउँसो गाईको पूजासहित धनधान्याकी अधिष्ठात्रीदेवीको आराधना, उपासना र चिन्तन गरिन्छ । लक्ष्मी नै धन र सम्पत्तिकी दाता हुन् । सम्पत्तिको अर्थ पैसा, दौलतमात्र होइन आनन्द वा परमात्मा प्राप्त गर्नु पनि हो । विकारबाट मुक्त भएपछि पुनः जन्मनुपर्दैन, संसारको दुःखले छुँदैन र सुख प्राप्ति हुन्छ, त्यसैले यसको नाम सुखरात्रि भयो ।

(घ) शिवरात्रि– फाल्गुनकृष्ण चतुर्दशीलाई शिवरात्रि भनिन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् । यसैले चतुर्दशी तिथिमा शिवसँग सम्बद्ध अनुष्ठान गरिन्छ । ‘शिवस्य रात्रिः शिवरात्रि’ अर्थात् शिवको रात्रि नै शिवरात्रि हो । शिवको अर्थ ‘परमात्मा’ र रात्रिको अर्थ ‘ज्ञान’ हुन्छ । जुन दिनको साधनाबाट परमात्माको बोध हुन्छ त्यसलाई शिवरात्रि भनिन्छ ।

पहिलो दिन कागलाई पूजा गरेर तिहारको प्रारम्भ हुन्छ । कागलाई यमराजको दूत, सूचनाको संवाहक भनिन्छ । पुराणकालसम्म कागले चिठ्ठीहरु आदानप्रदान गर्ने, समाचार सुनाउने, परिस्थितिको जानकारी दिने काम गर्दथ्यो । अब कागको भाषा, संकेत नै बुझ्न छोडियो, कागको महत्व हरायो, कागबाट लिइने शिक्षा गुमनाम भयो ।

काकादेवर्चनं श्रुत्वा गृहित्वा तृणकादिकम् ।
अङ्गुल्या मापयेत्तन्तुं त्रयोदशसमन्तिवतम् ।।
सप्तभिर्विभजेत्तस्य शेषेन फलमादिशेत् ।
तत्र शङ्का नैव कार्या न मृषा काकभाषितम् ।।–आर्षवचनम्
लाभो हानिस्तथा सौख्यमानन्दप्रियदर्शनम् ।
भोजनं कलहश्चैव छिक्काकाकश्रृगालकम् ।।
–ज्योतिषः सार शिरोमणि

अर्थात्, “काग, स्याल कराउनेबित्तिकै वा हाच्छिउँ आउनसाथ भूइँमा हेर्दा पहिलोपटक देखेको छेस्कोलाई अङ्गुलीले नाप्ने, त्यसमा तेह्र जोडेर सातले भाग गर्ने । मानौँ हामीले टिपेको छेस्काको लम्बाई ९ अङ्गुल भयो, त्यसमा तेह्र जोड्दा २२ (बाइस) हुन्छ, सातले भाग गर्दा १ बाँकी हुन्छ । शेषका आधारमा फल क्रमशः निम्नअनुसार हुन्छ– एक रहे लाभ, दुई हानि, तीन सुख, चार आनन्द, पाँच प्यारो मानिससँग भेट, ६ मीठो भोजन, सात वा शून्य रहेमा झगडा हुन्छ ।”

पशुपंक्षीको भविष्यवाणी सत्य हुन्छ भन्ने विषयलाई सन् २०१०को विश्वकप फुटबलमा अक्टोपसले प्रमाणित गरिदिएको थियो । हुँदा–हुँदै विदेशीहरूले प्रधानमन्त्री को बन्छ, चुनावमा कसले विजय पाउँछ भन्ने थाहा पाउन गोहीलाई समेत प्रयोग गर्न थालेका छन् । काग केवल पंक्षीमात्र होइन ऋषि पनि थिए । कागभुसुण्डीको तपोबल र दैवी शक्तिका बारेमा रामायणमा पनि चर्चा गरिएको छ । काठमाडौँस्थिर कागेश्वरशिवलिङ्ग छ, गोरखाको भुसुण्डीखोलामा कागभुसुण्डीको तपस्यास्थल छ, मनाङजिल्लामा रहेको तिलिचोतालमा कागभुसुण्डी निकै लामो समय बसेकाले साधुसन्त दर्शनार्थ यहाँ पुग्छन् । काग केवल पंक्षीमात्र होइन ऋषि, साधक, ब्रह्मचिन्तकको प्रतिक हो ।

तिहारको दोस्रो दिन कुकुर पूजा गरिन्छ । कुकुर सबैभन्दा बफदार प्राणी हो । गोप्य अपराध पत्ता लगाउन कुकुरको प्रयोग गरिन्छ । कुकुरले मानिसलाई सुरक्षामात्र दिएन उनीहरुको विश्वासिलो आधारसमेत बन्यो । युधिष्ठिरलाई स्वर्गको बाटो देखाउने, चन्द्रमामा पुग्ने प्राणी कुकुर नै थियो । छोटो निद्रा, मालिकको सेवा, कर्तव्यप्रतिको बफादारीलगायतका पक्षहरु कुकुरबाट नेताले सिक्न सकेको भए हाम्रो हालत यस्तो हुने थिएन ।

तेस्रो दिन गाईको पूजा गरिन्छ । पृथ्वी, जन्मदाता एवं मुक्तिदायिनीका रुपमा गाईलाई पुजिन्छ । गाईका शरीरभरि देवीदेवता र तीर्थस्थलको निबास हुन्छन् । गाईको दूध, दही, गोबर, गहुँत अमृतसमान हुन्छन् । गाईको नजिक बसेर गरेको पाठ, जपिएको मन्त्रबाट छोटो समयमा अधिक लाभ लिन सकिन्छ ।

गाई पशु होइन परमात्मासम्म पु-याइदिन सक्ने शक्ति भएकी देवीस्वरुपा हुन् । गाईलाई गवां अङ्गेषु तिष्ठन्ति त्रयो लोकाश्चराचर ।…..गावो विश्वस्यमातरः इत्यादि शास्त्रीय मान्यताका साथ पूज्नुको कारण यही हो । गाईबाट धुन्धुकारीका भाइ गोकर्णको जन्म भएको थियो । गोकर्णले धुन्धुकारीसहित सम्पूर्ण पितृहरूको उद्धार गरेका थिए । गाईको गोबरबाट गोरखनाथको जन्म भएको थियो । उनकै आशीर्वादले नेपाल एकीकरण सम्पन्न भयो । स्वस्थानीमा गोमाको जन्म गाईकै गोबरबाट भएको वर्णन छ । गणेश बनाउँदा गाईकै गोबरमा दुबो राखिन्छ ।

श्रीकृष्णले अधिकांश जीवन गाईकै सेवामा बिताएका थिए । त्यसैले होला गौतमबुद्धले पनि गाईको मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेपालको पहिलो राजवंश गोपाल थियो । पशुपति जमिनमुनि हुँदा गाईले दूध चढाउँथिन् । ग्रहदोषले सन्तान नुहँदा गाई दान गरिन्छ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले प्रधानमन्त्री हुँदा पनि हरेक दिन गाईको सेवा गर्न छुटाउनु भएन । भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ गाईका परमभक्त छन् । गाईको रक्षा गर्ने भूमि भएकाले गोरखा नाम राखियो । पाश्चात्यहरूले गाईलाई दुर्भाग्यवश मासुका रूपमा प्रयोग गर्दछन् । फल खान छाडेर रुख खानु कसैका लागि लाभ हुँदैन । यही बुझेर प्राचीन कालबाट घरदेखि दरबारसम्म गाई पालेको देखिन्छ ।

याज्ञवल्क्यले शास्त्रार्थमा गाई जितेको, विश्वामित्र–वशिष्ठजस्ता ऋषिहरू पनि गाईमा नै लोभिएका थिए । समुद्र मन्थन गर्दा कामधेनु गाई उत्पन्न भएकी थिइन् । यसैले गाई शान्ति र संवृद्धिको प्रतिक मानिन्छिन् । गाईपूजासँगै तोरणलाई विधिवत् अनुष्ठान गरी घर र गोठको सुरक्षार्थ टाँगिन्छ । लक्ष्मण रेखाकै प्रतिबिम्ब झल्कने गरी तोरणको परम्परा मन्दिरदेखि घरसम्म, गोठदेखि तीर्थस्थलसम्म टाँगेर सुरक्षा, सिद्धि र सुखको कामना गरिन्छ ।

गाईतिहारको बेलुका लक्ष्मीको पूजा गरिन्छ । ढोकादेखि ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपेर लक्ष्मीको स्वागत गरिन्छ । जहाँ गोबर हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ, रातोमाटोले शक्तिशाली अर्थतन्त्रको बोध गराउँछ । हामीलाई अर्थतन्त्रले ढाड सेकाएको बेला यसलाई विधिपूर्वक पूजा गर्न सरकारको ध्यान गए राष्ट्रको कल्याण हुने थियो ।

चौथो दिन गोरु र गोवर्धनको पूजा गरिन्छ । मन्दिर बनाउने परम्परा आउनुपूर्व तीर्थस्थल वा क्षेत्रको दर्शन गर्ने चलन थियो । अहिले पनि देवघाट, चरताधाम, कैलाश, गोसाइँकुण्डमा मूर्ति पूजा गर्न होइन, क्षेत्रको दर्शन गर्न जाने गर्दछन् । गोबद्र्धन अर्थात् जसको पूजाले गोरुको संख्या सृजनशीलता बढाउँछ त्यसको पूजा गर्ने परम्परा छ । अहिलेको प्रविधि आउनुपूर्व गोरुबाट नै खेतीपातीको काम हुन्थ्यो । प्रेतात्माको मुक्तिका लागि साँढे डाम्ने वा छोड्ने धार्मिक मान्यता थियो । खेतबारीमा गोरुको गोबर प्रयोग हुँदासम्म अन्नमा तागत थियो, फूलफलमा शक्ति थियो, घरमा सम्पत्ति थियो । गोबरले लिप्दा घरमा शान्ति, परिवार निरोगी थिए ।

पाँचौँ दिन दिदीबहिनीबाट सप्तरङ्गी टीका लगाएपछि तिहारको विधिवत् समापन हुन्छ । दाजुभाइको अकाल मृत्यु नहोस्, वंशपरम्पराले निरन्तरता पाओस्, सुखशान्ति होस् भनी दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिन्छन् । सात रङले सातै दिन सुरक्षा गरुन् भन्ने अर्थ दिन्छ । रङका आआफ्नै अर्थ र महत्व हुन्छन् । सेतोले शान्ति, रातोले शक्ति, पहेँलोले धैर्य, हरियोले ऊर्जा आदि अर्थ बताउँछन् । दुबोलाई तेलमा चुबेर मन्त्रद्वारा छेक्ने चलन छ । ओखर फोरेर दाजुभाइका शत्रु नाशको कामना गरिदिन्छन्, मखमली फूलको माला लगाइदिएर दीर्घजीवनको कामना गर्दछन् ।

हाम्रा पर्वले जोड्ने, तिक्तता र रिक्ततालाई हटाएर पूर्णता दिने काम गर्छ । तिहारमा देउसी भैलो खेलेर समाजमा आत्मीयता जोड्ने काम गर्छ । सबै जातका मानिसहरु मिलेर देउसी भैलो खेल्छन् । ‘भैलो’ शब्दले भलो अर्थात् कल्याणबाट अपभ्रंश भएर भैलो बन्न पुगेको देखिन्छ । अहिलेसम्म पहाडका कतिपय ठाउँमा भैलीराम भन्ने चलन छ । राम नेपालीसमाजको राजनीतिदेखि समाजसम्म, परिवारदेखि दर्शनसम्म जोडिएको छ । हे राम सबैको भलो गरिदेऊ भन्न अर्थमा भैलीराम भनिएको हुन सक्छ ।

लक्ष्मीपूजाको दिनमा महिलाहरुले भैलो र गोवर्धन पूजाको दिनमा पुरुषहरुले देउसी खेल्ने चलन छ । भैलो र देउसीको सम्बन्ध बलिराजासँग सम्बनध छ । साँझपछि हरेकका घरमा गएर खेलिने देउसी भैलोले समाजको कथा, हाम्रो संस्कृति, संगीत एवं गायन परम्पराको संरक्षण गरिरहेको छ ।

यसरी यमराज आफ्नो व्यस्त जीवनमा आनन्दका साथ बहिनीकहाँ पाँच दिन बसेको अवसरलाई आधार बनाएर तिहार मनाएको हुँदा यो प्राचीन पर्व भएको देखिन्छ । प्रकृति खुलेको, फूल फुलेको, धान झुलेको, हिमाल हाँसेको समयमा मनाइने तिहारले प्रकृतिसँग जोडिएर, संस्कृतिसँग गाँसिएर, पशुपंक्षीको पूजा गरेर परम्पराको संरक्षण गर्न प्रेरणा दिइरहेको छ ।

दशैँमाथि नग्न रुपमा प्रयोग गर्नेहरु तिहारबारेमा मौन छन् । कोही भदौमा दशैँ मनाउँछन्, कोही हाम्रो होइन भनी इतिहासमाथि आगो लगाउँछन् तर सौभाग्य तिहारमाथि तरबार चलेका छैन । तिहारले प्रकृति, प्राणी, परम्परालाई सम्मान गर्ने भएकाले यो नेपालीको पर्व हो, हिन्दूको चाड हो, पुर्खाको परम्परा हो ।