२४ आश्विन २०८१, बिहीबार
,
Latest
भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ खसीबोका बिक्री नभएको किसानको गुनासो बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ घर पाएपछि वादी समुदायमा खुसी



अ+ अ-

अर्घाखाँची । वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन् । 

विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आउनुभएकी उहाँ सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उहाँले भन्नुभयो, “अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।” दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आउनुभएका उहाँले लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे घर पाउनुभएको हो । 

खोला किनारको जङ्गलको छाप्रोबाट उहाँ पक्की घरमा सर्दै हुनुहुन्छ । मजदुरी र बालुवा चालेर गुजारा चलाएको उहाँले बताउनुभयो । “मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ,” उहाँले भन्नुभयो, “घडेरी किन्ने उपाय थिएन । खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो ।” घडेरीसँगै नयाँ घर पाएपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उहाँको भनाइ छ । 

त्यस्तै बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आउनुभएका मधु वादीले भन्नुभयो, “धेरै समय खुला ठाउँमा बस्यौँ । बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने र अन्नपात बगाउने जस्ता समस्या थियो । नयाँ घर पाएपछि बल्ल घरधनी भएको महसुस भएको छ ।” उहाँले नयाँ घर पाएपछि हामी औधि खुसी भएका छौँ भन्नुभयो । 

लक्ष्मी र मधु मात्रै होइन, सन्धिखर्क–२ चुत्राबँेसीमा विगत लामो समयदेखि छाप्रोमुनि बस्दै आएका वादी समुदायका ११ र दलित समुदायका दुई गरी १३ घरपरिवारले घडेरीसहित नयाँ घर पाएका छन् । सन्धिखर्क नगरपालिकाले रु १० लाख ९९ हजार नौ सयमा भद्रीखोलामा दुई रोपनी चार आना एक दाम जग्गा खरिद गरेको र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत सो जग्गामा रु ४३ लाख  ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले बताउनुभयो  ।  

लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाउँदा आफूलाई निकै खुसी र आनन्दको अनुभूति भएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताउनुभयो । स्थानीय वडा समिति र नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार अत्यन्तै कष्टकर जीवन बिताएका बादी समुदायलाई घर बनाइदिने आफूहरुको चुनावी प्रतिबद्धताअनुसार उक्त घर निर्माण भएको सन्धिखर्क नगरपालिका–२ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले बताउनुभयो ।