३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ
अ+ अ-

दोधारा चाँदनी । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान(फाँट)छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिङ्गाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ । बाह्रसिङ्गाको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ ।

स्थानीय पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडा र चराचुरुरङ्गीका लागि प्रख्यात ठाउँ भएको बताउनुभयो । उहाँले यहाँको घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्ने गरेको बताउनुभयो । “पर्यटनका लागि शुक्लाफाँटा सम्भावनाको खानी नै हो यसको प्रचारप्रसार हुनसकेको छैन”, उहाँले भन्नुभयो,“ बिभिन्न प्रजातिका लोपोन्मुख चरा र बाघ र गैँडा पनि यहाँ देख्न सकिन्छ ।”

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जङ्गबहादुर मल्लले बाह्रसिङ्गाको बथान हेर्नकै लागि पर्यटक शुक्लाफाँटा पुग्ने गरेको बताउनु हुन्छ । “शुक्लाफाँटाको घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ”, उहाँले भन्नुभयो,“यसको प्रचारप्रसार हुनसके यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुन्छ ।” शुक्लफाँटाको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भनाइ छ । यहाँको भीमदत्त नगरपालिकाले बाह्रसिङ्गाको प्रचारप्रसार गर्न बाह्रसिङगको नगर भनेर घोषणा समेत गरेको छ ।

बाह्रसिङ्गाको बथान देखिने फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास समेत बसेका थिए । शुक्लाफाँटामा रहेको घाँसे मैदान विश्वको सबै भन्दा ठूलो मैदान रहेको मानिन्छ । घाँसे मैदानमा बाह्रसिङ्गाको बथान चरिरहेका हुन्छन्, घाँसे मैदानमा मयुर नाचेको दृष्यले त पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र घाासे फाँटमा पाटेबाघ देखिने महत्वपुर्ण ठाउँ हुन । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशप्रसाद भट्टले यहाँ पर्यटनको ठूलो सम्भावना रहे पनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन नसकेको बताउनुभयो ।

“समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छ”,उहाँले भन्नुभयो, “शुक्लाफाँटामा रहेका तालतलैया र यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउछ ।

निकुञ्जभित्र ठुलो घाँसे मैदान संगै ठाउ–ठाउमा अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ ।
फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन । पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स–साना तालमा प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ ।

निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ । आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०७५ सालमा दुई सय ६६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । बि।स। २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार ६ सय ५१ जना विदेशीले निकुञ्जको भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् ।

त्यसैगरी २६ हजार तीन सय ८२ जना नेपालीले शुक्लाफाँट भ्रमण गरेका छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताउनुभयो । “पर्यटकको सहजताका लागि निकुञ्ज कार्यालयले बाटो मर्मत मचान निमार्ण र सरसफाइ जस्ता कार्यक्रम गरिरहेको छ”, उहाँले भन्नुभयो, “यहाँको फाँटमा देखिने बाह्रसिङ्गाको बथाननै पर्यटकको मुख्य आकर्षण हो ।”

उहाँले शुक्लाफाँटाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । शुक्लाफाँटा छेउमै रहेको रानाथारु समुदायले पनि सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन । होमस्टेमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा राना थारु नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन । यो बाहेक महेन्द्रनगर सदरमुकाममा एक दर्जन बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा छन ।शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्कमुलुकका नागरिकका लागि रु सात सय प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि एक हजार ५ पाँच सय र नेपालीका लागि रु एक सय प्रवेश शुल्क राखिएको छ । २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो ।

विसं २०१३ को गणना अनुसार वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् । यस्तै २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, ८०–९० वटा निलगाई र चार सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोर जस्ता पछी पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गँैडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल छन् । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

कसरी पुग्ने शुक्लाफाँटा ?

काठमाडौँदेखि महेन्द्रनगर छ सय ९७ किमिको दुरीमा रहेको शुक्लाफाँटा सडक यातायातबाट करिब १६ घण्टाको यात्रपछि महेन्द्रनगर सदरमुकाम पुगिन्छ । महेन्द्रनगर सदरमुकामबाट सात किमिको दूरीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ । काठमाडौँबाट धनगढीका लागि करिब एक घण्टाको हवाइ यात्रामा धनगढी विमानस्थल पुगेर शुक्लाफाँटा पुग्न सकिन्छ ।

त्यसैगरी विदेशी पर्यटकका लागि पश्चिमी सिमानाका गड्डाचौकीबाटसमेत सहज रुपमा महेन्द्रनगर पुग्न सकिन्छ । पश्चिमी सिमानाका गड्डाचौकीबाट आठ किलोमिटर यात्रा गरेपनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिन्छ । रासस