• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौँ १० मा गठबन्धन टुट्यो, कांग्रेस र माओवादी एक्लाएक्लै लड्ने



काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा गठबन्धनबीचको सहमति भंग भएको छ ।

सत्ता गठबन्धनबीच सो निर्वाचन क्षेत्र नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो । सोहीअनुरुप नेपाली कांग्रेसले राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । केसीले २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए ।

यसपटकको निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसलाई छाड्ने सर्तमा माआवादी केन्द्रले प्रदेशसभामा सिट मागेको थियो । तर कांग्रेसले प्रदेशसभा पनि नछाडेपछि माओवादी केन्द्रले प्रतिनिधिसभामा अञ्जना विशंखेलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युजपोलारसँगको कुराकानीमा प्रदेशसभा दिन नमानेपछि माओवादी केन्द्रले गठबन्धनको सहमति तोडेको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा कांग्रेसको राम्रो अवस्था रहेको र यसअघिको निर्वाचनमा पनि नतिजा राम्रो ल्याएकाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले टिकट पाउनुपर्ने स्वाभाविक रहेको बताउनुभयो ।

प्रवक्ता महतले उम्मेदवारी फिर्ता नलिए पनि माओवादी केन्द्रले आफ्ना उम्मेदवारको प्रचारप्रसार नगरी गठबन्धनबीचको सहमतिअनुरुप नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।