११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ ।

सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्वपरिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । साथै उहाँले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताउनुभएको थियो ।

“दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ”, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी उहाँले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले जलवायुसम्बन्धी हानिनोक्सानी कोषमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दामा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताउनुभएको थियो ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले यसका लागि नेपाललाई स्रोतसाधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलस्रोत तथा ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीव्र पार्नु, पर्यटनका सम्भावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभावविरुद्ध लड्नु रहेको उहाँले बताउनुभएको थियो । “नेपालको आर्थिक विकासका लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो । उहाँले युक्रेनमा झुक्याएर पु¥याइएका नेपालीलाई छुटाउन पहलका लागि पनि आग्रह गर्नुभएको थियो ।

नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको उल्लेख गर्र्दै उहाँले गत महिना काठमाडौँमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्नुभयो । “नेपाल सरकार जर्मन लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

हालैका वर्षमा जर्मनी नेपाली युवाका लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यका रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकाले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुद हुने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले नेपाल वायु सेवालाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त गर्नुभएको पनि पोखरेलले जानकारी दिनुभयो ।

सो अवसरमा जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताउनुभएको उहाँको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरुसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राख्नुभएको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मन त्यसबारे गम्भीर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गर्नुभएको थियो । साथै उहाँले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसङ्घका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गर्नुभयो ।

जर्मनीका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठ्यारो बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताउनुभएको थियो । साथै उहाँले नेपाली हवाई कम्पनीलाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको हो । प्रेस सल्लाहकार पोखरेलले जर्मनले राष्ट्रपति पौडेललाई यसपटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिनुभएको बताउनुभयो । दुईपक्षीय भेटवार्ता अघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएको थियो । रासस