• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

महाधिवेशनको विकल्प छैनः नेता केसी



चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उहाँले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्छ भन्नुभयो । क्रियाशील सदस्यताको विवाद मिलाएर महाधिवेशनमा जानुपर्ने भन्दै उहाँले सहमतिका लागि भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसको वैधानिकताको विषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम बढेको हुँदा अहिलेको अवस्थामा पार्टीको शीर्ष तहले विशेष अधिवेशनको विकल्पबारे सोच्नुपर्ने उहाँको भनाइ थियो । एमसिसी संशोधन गरेर मात्र पारित गर्नुपर्ने केसीको सुझाव थियो ।