२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलले बेनी बजार उत्सवमय



अ+ अ-

बेनी । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रूपमा सञ्चालन गरेका छन् ।

प्रतियोगिताको हरेक खेललगत्तै म्याग्दीको संस्कृति झल्कने सांस्कृतिक र साङ्गीतिक प्रस्तुति राख्ने गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले तय गरेको कार्यतालिकालाई असर नपर्ने गरी प्रतियोगितामा सहभागिता जनाउन आएका खेलाडी, अफिसियल, व्यवस्थापक र खेलप्रेमी दर्शकलाई मनोरञ्जनका लागि नृत्य र साङ्गीतिक प्रस्तुति राख्ने व्यवस्था मिलाइएको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

“यो प्रतियोगितालाई हामीले खेलउत्सवकै रूपमा सम्पन्न गर्ने प्रयत्न गरेका छौँ, हरेक खेलको बीच र अन्त्यमा खेलाडीलाई म्याग्दीको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति राख्ने हाम्रो जमर्को छ, पहिलो दिनको झाँकीसहितको सांस्कृतिक प्रस्तुतिले खेलाडी र खेल अवलोकन गर्न आएका दर्शक हर्षित भएको पाएका छौँ”, उहाँले भन्नुभयो । खेल अवधिमा म्याग्दीको थाली नाच, जातजातिको मौलिक कला संस्कृति झल्कने नृत्यसँगै विभिन्न सामूहिक नृत्यलाई समावेश गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लामा रहेका जातजाति र सङ्घसंस्थाको पहिचान, कला र संस्कृति झल्कने झाँकी प्रदर्शनसहित खेलाडीलाई स्वागत गरेको म्याग्दीले राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई महोत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्य छ । बिहीबार उद्घाटनका अवसरमा ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतमा सामूहिक नृत्य प्रस्तुत गरी स्वागत गरिएको कार्यक्रममा नौमती बाजा, नेवार समुदायको नागा–नागिनी नाच, मगर समुदायको पुख्र्यौली नाचसँगै युवायुवतीले लोकदोहोरी भाकाका गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीलाई तुल, ब्यानर र तोरनले सिङ्गारिएको छ । प्रतियोगिता अवधिमा खेलाडीलाई बेनी नजिकका पर्यटकीय गन्तव्यमा भ्रमणको समेत बन्दोबस्त मिलाइएको छ । आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीनवटा विभागीय टिम सहभागी छन् । प्रतियोगिताको आज दोस्रो दिन पहिलो चरणको तीनवटा खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । लिक कम नकआउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चारवटा समूह बनाइएको छ । पाँच दिनमा १६ खेल सञ्चालन हुनेछन् ।




भर्खरै