राष्ट्रपति विद्यादेवी भण्डारी महानवमीका अवसरमा मङ्गलबार राष्ट्रपति भवन, शीतल निवासमा नवकन्याको पूजापश्चात सामूहिक तस्बिरमा । तस्बिर: विष्णुप्रसाद घिमिरे-रासस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गर्नु भएको हो । यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनु भएको थियो ।
कन्याहरुकाे गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गर्नु भएको थियो । त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाउनु भएको थियो । उहाँले गत वर्ष पनि वडा दशैंको महानवमीको दिन नौं जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गर्नु भएको थियो । भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दशैंको टीकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा छ ।