• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

घटस्थापनासहित जमरा राखी बडा दसैँ सुरु



काठमाडौँ । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडा दसैँ सुरु हुन्छ । आज बिहान १०ः२३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दसैँ सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ ।

बडा दसैँको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ । पूजा कोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ ।

दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ ।

पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना

दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्छ ।