१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना
फाइल फोटो
अ अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ ।

करिब रु दुई करोड लागतमा सञ्चालन गरिएको लघु जलविद्युत् आयोजनाका लागि ऋण लिइएको रु नौँ लाख रकम अझै फिर्ता गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष अग्नीप्रसाद राईले बताउनुभयो । “एक घर उपभोक्ताबाट प्रति महिना रु १०० का दरले सेवा शुल्क लिने निर्णय गरेका थियौँ”, उहाँले भन्नुभयो, “समितिले तोकेको सेवा शुल्क उपभोक्ताले नबुझाउदा अहिले आर्थिक सङ्कट भएको छ । उपभोक्ताबाट सेवा शुल्क नउठेपछि आयोजना नै सङ्कटमा परेको छ ।”

नाखामखोला लघु जलविद्युत् आयोजनामा अहिले तीनजना प्राविधिक कर्मचारी कार्यरत रहेका र उनीहरुलाई मासिक तलब दिनसमेत समस्या भएको उपभोक्ता समितिले जनाएको छ । प्राविधिक कर्मचारीका लागि मासिक तलबबापत रु छ लाख रकम भुक्तानी दिन बाँकी रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

सुरुमा सबै उपभोक्ताको उल्लाशमय सहभागितामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइए पनि पछिल्लो समय हेल्चेक्र्याइँले समस्या भएको देखिएको वडाध्यक्ष मुगाधन राईले बताउनुभयो । “अहिलेको अवस्था हेर्दा लामो समय सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामूहिकरुपमा सञ्चालन गरिएको आयोजना भएकाले एकजना व्यक्तिको निर्णयले चलाउने कुरा भएन । आर्थिक सङ्कट दिनानुदिन बढ्दै गएपछि उपभोक्ता समितिको बैठक बसेर केन्द्रीय प्रशारणलाइनमा जोड्न निर्णय गरिएको छ ।”

पटकपटक बिग्रँदै आएको उक्त नाखामखोला लघु जलविद्युत् आयोजना मर्मत गर्ने क्रममा यही भदौ १९ गते स्थानीय ३६ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको थिायो । श्रीमतीसहित चार सन्तानका बुबा प्रकाशको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्तिसमेत दिन नसकिएको उपभोक्ता समितिले जनाएको छ ।

विद्युत् गृह नजिक घर भएका राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गरेर सहयोग गर्दै आएकामा करेन्ट लागेर ज्यानै गुमाएको स्थानीयलाई बताएका छन् । सुरक्षाका उपाय नअपनाई अवरुद्ध विद्युत मर्मतको काम गर्दा यसअघि पनि विभिन्न समयमा प्राविधिक कर्मचारी र स्थानीय बासिन्दालाई पटक–पटक करेन्ट लाग्दै आएको छ ।

उता ऐसेलुखर्क गाउँपालिकामा तीनवटा लघु जलविद्युत् सञ्चालनमा छन् । वडा नं २ बाकाचोलमा सञ्चालित लिदिङखोला–२ लघु जलविद्युत् आयोजना ७० किलोवाट क्षमताको छ । दश वर्षअघि सञ्चालनमा ल्याइएको उक्त लघु जलविद्युत् आयोजनाको ऋण अहिले रु २७ लाख पुगेको उपभोक्ता समितिले जनाएको छ ।

वडा नं १ राखाबाङ्देलमा २०६९ भदौबाट सञ्चालित ७० किलोवाट क्षमताको लिदिङखोला–१ लघु जलविद्युत् आयोजनामा रु २५ लाख ऋण रहेको वडाध्यक्षसमेत रहनुभएका उपभोक्ता समितिका अध्यक्ष पुरुषोतम राजभण्डारीले बताउनुभयो । “सेवाग्राहीले महसुल बुझाउने हो भने लघु जलविद्युत् आयोजना यतिबेला फाइदामा जान्थ्यो”, उहाँले भन्नुभयो, “सबैको अपनत्व हुनेगरी उपभोक्ता समितिमार्फत सञ्चालन गरियो । अहिले उपभोक्ता समितिलाई कसैले टेर्दैनन् । उपभोक्ता समितिले धान्न नसकेपछि वडालाई यसको व्यवस्थापन हेर्ने जिम्मेवारी आएको छ ।”

गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं। ३ ऐसेलुखर्कका स्थानीय बासिन्दाले सञ्चालनमा ल्याएको ९० किलोवाट क्षमताको लिदिङखोला ३ लघु जलविद्युत् आयोजनाको ऋण रु ७० लाख रहेको जनाइएको छ । केन्द्रीय प्रशारणलाइनको विद्युतसमेत सञ्चालनमा रहेको उक्त ठाउँमा सञ्चालित लघु जलविद्युत् आयोजनाको उपभोक्ता समितिले ऋण तिर्न नसकेपछि आयोजना नै बन्द गर्ने अवस्था आएको बुझिएको छ ।

आर्थिक सङ्कट झेल्दै आएका गाउँपालिकाभित्र सञ्चालित लघु जलविद्युत्लाई एकीकृत गर्दै केन्द्रीय प्रशारणलाइनको विद्युतमा जोड्नेगरी पहल थालिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “हरेक वर्ष प्राकृतिक प्रकोपले क्षति गरेपछि उपभोक्ता समितिले क्षतिपूर्तीका लागि गाउँपालिकामा निवेदन ल्याउँछ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले सहयोग गर्ने स्थिति छैन । केन्द्रीय प्रशारणलाइनमा जोडियो भने उसैले हेर्ने भएकाले प्रक्रियाको बारेमा परामर्श भइरहेको छ ।”

केपिलासगढी गाउँपालिका–१ फेदीमा मात्रै चारवटा लघु जलविद्युत् आयोजना उत्पादन गरिएको थियो । अहिले तीनवटा सञ्चालनमा रहेका छन् भने, एउटा उत्पादन गरेर सञ्चालनमा ल्याएको केही महिनापछि नै पहिरोले बगाएर अलपत्र छ । ब्रिटिस गोर्खा वेलफेयर खोटाङको रु एक करोड २५ लाख लगानी तथा उपभोक्ताको श्रमदानमा उत्पादन गरिएको ३६ किलोवाट क्षमताको पञ्चमी–छमुवाखोला लघु जलविद्युत् आयोजना पहिरोले बगाउँदा एकजना प्राविधिक कर्मचारीको ज्यानसमेत गएको थियो ।

फेदीमा स्थानीय बासिन्दाको चन्दा सङ्कलन तथा दातृ निकायको सहयोगमा ४० किलोवाटको नोक्ती–तापखोला जलविद्युत् आयोजना, ३९ किलोवाटको स्वाँरा–तापखोला जलविद्युत् आयोजना र २४ किलोवाटको छमुवाखोला जलविद्युत् आयोजना हाल सञ्चालनमा छन् । करिब ६२५ घरधुरीले उपभोग गर्दै आएका यी तीनवटै लघु जलविद्युत् आयोजनामा आर्थिक सङ्कट रहेको वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो ।

सस्तो, भरपर्दो र स्थानीयवासीलाई रोजगारीको बन्दोबस्तसमेत हुने अपेक्षासहित जिल्लामा करिब तीन दर्जन लघु जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित लघु जलविद्युत् आयोजनामा अहिले आर्थिक सङ्कट देखिएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

विसं २०५७ मा दिक्तेल बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको लामो समयसम्म जिल्लाका अधिकांश ठाउँमा विस्तार नभएपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्त लघु जलविद्युत् आयोजना सञ्चालन गरेका थिए । शुरुमा लघु जलविद्युत् उत्पादनमा हौसिएका स्थानीय बासिन्दा अहिले आर्थिक सङ्कट पर्दै गएपछि निराश बनेका छन् ।

लघु जलविद्युत्मा आर्थिक सङ्कट पर्न थालेसँगै जिल्लामा सञ्चालित सबै लघु जलविद्युत् आयोजनाहरुलाई एकीकृत गर्दै केन्द्रीय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ २०७० सालमा केपिलासगढी गाउँपालिका–१ फेदीका तत्कालीन वडाध्यक्षसमेत रहनुभएका वीरबहादुर तामाङको अध्यक्षतामा ‘लघु जलविद्युत् उपभोक्ता जिल्ला महासङ्घ खोटाङ’ गठन गरिएको थियो । उक्त महासङ्घ अहिले निष्क्रिय छ ।

कानूनी झन्जटका कारण जिल्लामा सञ्चालित लघु जलविद्युत्लाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने काम गर्न नसकिएको अध्यक्ष तामाङले बताउनुभएको छ । “अहिले जिल्लामा मात्र नभई देशभर सञ्चालित लघु जलविद्युत् आयोजनाहरु आर्थिक सङ्कटमा छन्”, उहाँले भन्नुभयो, “आर्थिक सङ्कटकै कारण अधिकांश लघु जलविद्युत्हरु बन्द हुने अवस्थामा छन् । यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।”

जिल्लामा उत्पादित १०० किलोवाट क्षमतासम्मको साना जलविद्युत् आयोजनाहरु केन्द्रीय प्रशारण लाइनमा जोड्न जिल्लामै सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन सकिने नेपाल विद्युत प्राधिकरण, दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । “केन्द्रीय प्रशारण लाइनमा जोड्न लाग्ने आर्थिक तथा प्राविधिक खर्च र उपकरण सम्बन्धित जलविद्युत् उपभोक्ता समितिले ब्यहोर्नुपर्छ”, उहाँले भन्नुभयो, “१०० किलोवाटभन्दा माथिका जलविद्युत् जोड्ने हो भने प्राधिकरणमै गएर सम्झौता गनुपर्छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले २२ हजार २८२ घर केन्द्रीय प्रशारणलाइनको विद्युत उपभोक्ता रहेका छन् । शुरुमा ९२०५७ सालमा० ११ केभी क्षमताको विद्युत सञ्चालन गरिएको जिल्लामा छ वर्षअघि ९२०७३ सालमा० ३३ केभी क्षमतामा स्तरोन्नति गरिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सब–स्टेशन रहेको केन्द्रीय प्रशारण लाइनको विद्युतमा अहिले जिल्लाका तीनवटा जलविद्युत् आयोजना जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०।६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।

जिल्लामा उत्पादन गरेर केन्द्रीय प्रशारण लाइनमा जोडिएका विद्युतमध्ये तीन भागमा एक भाग पनि जिल्लामा खपत नभएको विद्युत प्राधिकरण खोटाङले जनाएको छ । जिल्लाका लागि आवश्यक पर्नेभन्दा तीन गुण बढी विद्युत् जिल्लामै उत्पादन भएपनि केन्द्रीय प्रशारण लाइनमा जोडिएकाले केन्द्रीय प्रशारण लाइनको विद्युत पटक–पटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा परेका छन् ।

विसं २०७८ को जनगणनाअनुसार ४० हजार ३९२ घर स्थानीय बासिन्दाको बसोबास रहेको जिल्लामा अधिकांशले लघु जलविद्युत् प्रयोग गर्दै आएका छन् । जिल्लाका आधाजति स्थानीय वासिन्दाले उपभोग गर्ने लघु जलविद्युत् आर्थिक सङ्कटमा फस्दै गएकाले त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । रासस