
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी चङ्गुलमा फस्नुभएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अमेरिकाको दबावमा जुनसुकै हालतमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न लाग्नुभएका प्रधानमन्त्री देउवाले यसका लागि गठबन्धन तोड्न खोजेको आरोप लगाउनुभयो ।
गठबन्धन तोडी नेकपा (एमाले) सँग मिलेर एमसीसी पारित गर्न खोज्ने प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ ।”
उहाँले अमेरिकी पासोमा पर्नुभएका देउवा अब कहिल्यै उम्कन नसक्ने बताउनुभयो । अब गठबन्धन तोडिए पनि आ–आफ्नै हिसाबले राजनीति गरिने उहाँको भनाइ थियो ।