• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश



काठमाडौँ । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन भनिएको छ ।

‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ । यस्तै, अदालतले असोज ५ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए ।