• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

अछाम पहिराको घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन



file

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उहाँले निर्देशन दिनुभएको हो ।

उहाँले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे आज जानकारी लिनुभएको छ ।

उहाँले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नुभएको भन्दै बाढी र पहिरामा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिनुभएको छ ।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपद्मा परेर नौजनाको मृत्यु भएको र २० जना घाइते भएको जानाकारी आएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रजिअ मरासीनीका अनुसार कमलबजार नगरपालिका–६ को ठाँटीघाटमा गएको पहिरामा परी चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइँको घर पुरिँदा परिवारका पाँचजनाको मृत्यु भएको जानकारी आएको छ ।

त्यस्तै ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एकजना बेपत्ता रहेका छन् । तुर्माखाद गाउँपालिकामा पनि नौजना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताउनुभयो । रासस