• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान



कमलामाई । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिनुभयो ।

दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँको भनाइ छ । साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । उहाँले भन्नुभयो, “सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइयो ।”

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन÷तीन जनामा डेङ्गु भाइरसको सङ्क्रमण भएको पाइएको छ । तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन् । केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उहाँले बताउनुभयो । दश डेङ्गुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिनुभयो । यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो ।

डेङ्गुको सङ्क्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उहाँको अनुमान छ । डेङ्गुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन् । स्वास्थ्य कार्यालयको समन्वयमा डेङ्गु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उहाँले बताउनुभयो ।

डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन् । चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।