२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा



अ+ अ-

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  

ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । सिरिजका लागि घोषणा भएको टोलीमा गुल्शनले स्थान बनाउँदा पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन । गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीलमा स्थान बनाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २÷२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीइ खेल खेल्ने छ ।  त्यसका लागि नेपाली टोली मंगलबार विहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ । त्रिकोणत्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिन पछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन ।

लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन् ।