२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले एक घर बगायो, ४५ घर जोखिममा



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो । 

वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिनुभयो । “नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्”, उहाँले भन्नुभयो “दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।” नारायणको गोठमा बाँधेको दुहुना भैँसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ । 

करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ । हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ । 

दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ । राति १ः०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयवासी ओमबहादुर घर्तीमगरले बताउनुभयो । (रासस)