काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस–माओवादी बीचको अपवित्र गठबन्धनलाई तोड्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाँले कांग्रेस र माओवादीबीचको अपवित्र चुनावी गठबन्धनले देश र दुवै पार्टीलाई भलो गर्दैन भन्दै यस्तो अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी हुने बताउनुभयो ।
सांसद चौधरीले हिम्मत र आँट गरेर नेपाली कांग्रेसलाई बचाउन यस्तो अपवित्र गठबन्धनलाई तोडी कांग्रेस एक्लै चुनावमा जाने घोषणा गर्न सभापति देउवासँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “२०६४ मा १८ सिटमा विजय भएको कांग्रेस २०७० मा ठूलो पार्टी बन्न पुग्यो । २०७४ मा २३ सिटमा हामी छौँ । २०७९ को मंसिर ४ मा हुने चुनावमा कांग्रेसलाई ठूलो पार्टी बन्नबाट कसैले रोक्न सक्तैन । हिम्मत गर्नुस् आँट गर्नुस् । जीवनको अन्तिम घडीमा आएर एउटा राम्रो काम गरेर जानुस् । हैन भने वर्तमानदेखि भावी पुस्ताले सराप्ने छन् । ”










